हिउँदे पानी नपर्दा महोत्तरीका किसान चिन्तित
हिउँदे पानी नपर्दा महोत्तरीका किसान चिन्तित
    • बेल संचार

    • २३ माघ २०८१, बुधबार

महोत्तरी ।

यसपालि सिङ्गो हिउँद पानी नपरी बित्नै लाग्दा महोत्तरीका किसान निरास बनेका छन्। वसन्तपञ्चमी पर्वसम्म पनि पानी पर्ने कुनै संकेत नदेखिएपछि किसानहरू हिउँदे बालीको उत्पादनमा असर पर्ने चिन्ताले ग्रस्त भएका छन्।

“हिउँद पानी नपरी बित्यो,” बर्दिवास–९ टोकीटोलका ६० वर्षीय किसान रामचन्द्र थापा मगर भन्छन्, “खै हिउँदे बाली राम्ररी भित्रयाउन पाइएला जस्तो छैन।” कुलोबाट सिँचाइको सुविधा नपाएका किसानहरूले इनारको पानी मोटरबाट तानेर खेतबारीमा सिँचाइ गर्ने गरेका छन्। तर, यसपालि वर्षा नहुँदा इनारको पानीको सतह घट्दै गएकाले मोटरबाट पानी तान्नै नसकिने अवस्था आएको छ।

बर्दिवास–७ का ७० वर्षीय किसान बिन्देश्वर यादवका अनुसार हुस्सु लागेको मौसम लामो समयसम्म जारी रहे पनि पानी पर्न नसक्दा तरकारी बाली ओइलिन थालेका छन्। “आकाश धुम्मिएको छ, पानी पर्न सकेको छैन,” यादव भन्छन्, “माटो सुकेर बाली बढ्न सकेका छैनन्।”

भङ्गाहा–४ रामनगरका ७५ वर्षीय इस्लाम राइन भन्छन्, “यो हामीले पहिले देखे भोगेभन्दा फरक हुँदैछ।” उनको अनुभव अनुसार अघिल्लो दशकमा ऋतु अनुसारको मौसम अनुमान गर्न सकिन्थ्यो, तर अहिले त्यो मेल नखान थालेको छ। उनका छिमेकी जव्वार शेषका अनुसार गहुँ, उखु, दलहन बाली राम्ररी नबढ्दा उत्पादन कम हुने चिन्ता छ। यसैगरी, भण्टा, रामतोरीया, खुर्सानीलगायतका तरकारी पनि पानीको अभावमा ओइलिँदै गएका छन्।

गौशाला–११ का किसान भोगेन्द्र महतोका अनुसार माटोमा पर्याप्त चिस्यान नभएपछि पानीको अभाव टार्न सिँचाइको वैकल्पिक उपायसमेत छैन।

हिउँदे पानी जमिनलाई मात्र होइन, खानेपानीका स्रोतहरूका लागि पनि महत्त्वपूर्ण मानिन्छ। बर्दिवास–१२ बिजलपुराका ६५ वर्षीय किसान रामविलास सिंहका अनुसार पानी नपरेपछि इनार, चापाकलजस्ता खानेपानीका स्रोतहरू चाँडै सुकिने खतरा छ। अहिले नै खोल्साखोल्सी सुकिसकेको छ भने सदाबहार मुहानहरूमा समेत पानी देखिन छाडेको छ।

फलफूलका रुखहरूमा समेत यसको असर देखिएको छ। हिउँदे पानी नपर्दा आँप, उखु, लहरे तरकारीलगायतका बोटबिरुवामा मञ्जरी कम लाग्ने, झर्ने र मधुवारोगको प्रकोप बढ्ने सम्भावना छ।

हिउँदे वर्षा सिँचाइ मात्र नभई बालीनालीको पोषण र रोग प्रतिरोधका लागि पनि महत्त्वपूर्ण हुने किसानहरूको अनुभव छ। “हिउँदे वर्षा सिँचाइ मात्र हैन, बालीको पोषण र रोग नियन्त्रणका लागि रामवाण हो,” औरही–७ का मोहन महतो भन्छन्।

महोत्तरीको कूल ७० हजार हेक्टर खेतीयोग्य जमिनमध्ये केवल १० प्रतिशत मात्रै कुलोबाट सिँचाइ गर्न सकिन्छ। यस्ता कुलोमा पानीको स्रोत हिउँदे वर्षामा निर्भर हुने भएकाले पानी नपर्दा ती पनि सुकेका छन्।

किसानहरू हिउँद सकिन लाग्दा पनि वर्षाको कुनै संकेत नदेखिँदा थप चिन्तित बनेका छन्। यदि छिट्टै पानी नपरे, हिउँदे बालीका साथै खानेपानीको पनि अभाव हुन सक्ने देखिन्छ।

साताकाे चर्चित
सम्बन्धित