पानीका मुल सुकेपछि, हिमा नदीको रूप फेरिँदै
पानीका मुल सुकेपछि, हिमा नदीको रूप फेरिँदै
    • उमेश बुढा

    • २४ माघ २०८१, बिहीबार

जुम्ला

जुम्लाको प्रसिद्ध हिमा नदी, जो कागदुल्ला हिमालबाट उत्पत्ति भएको छ, पानीका मुलहरू सुक्दै गएपछि अहिले खोलाको आकारमा परिणत हुन पुगेको छ। लामो समयदेखि परेको खडेरीका कारण जुम्ला भरिका पानीका स्रोतहरू धमाधम सुकिरहेका छन्, जसको प्रत्यक्ष असर हिमा नदीमा देखिएको छ।

हिमा नदी सैकडौं पानीका मूलहरू मिसिएर बनेको थियो। तर, खडेरी र जलवायु परिवर्तनको असरले गर्दा नदीको वहाव घट्दै गइरहेको छ। स्थानीय माधव काफलेका अनुसार विश्वव्यापी जलवायु परिवर्तन, वातावरण विनाश, र औद्योगीकरणका कारण पृथ्वीको तापक्रम तीव्र रूपमा बढ्दै गएको छ। यो कारणले गर्दा हिमालमा हिउँ पर्न छाडेको र पहाडका पानीका मूलहरू सुकेर जाने क्रम तीव्र भएको छ।

“पहिले हिमालहरू सेताम्य देखिन्थे, अहिले भने ती काला पत्थर बन्न पुगेका छन्, ।

छ महिनादेखि हिउँपात र पानी नपरेको कारण वातावरण थप सुख्खा भएको छ। पानीका मूलहरू सुकेपछि हिमा नदीको वहाव घटेर सानो खोलामा रूपान्तरण भएको छ। यो नदी जुम्लाको कनकासुन्दरी, सिँजा हिमा गाउँपालिका हुँदै कालिकोट र नाग्म क्षेत्रमा पुगेपछि तिला कर्णाली नदीमा मिसिन्छ र अन्ततः कर्णाली नदीसँग संगम गर्छ।

नदीकै नामबाट हिमा गाउँपालिकाको नामकरण गरिएको यस क्षेत्रका बासिन्दाहरू जलवायु परिवर्तन र पानीको संकटप्रति चिन्तित छन्। पानीका स्रोतहरूको संरक्षण नगरेमा भविष्यमै थप गम्भीर असर पर्ने स्थानीयवासीहरूको भनाइ छ।

साताकाे चर्चित
सम्बन्धित