भोजपुरबाट यस वर्ष ३५ करोड बढीको सुन्तला निर्यात
भोजपुरबाट यस वर्ष ३५ करोड बढीको सुन्तला निर्यात
    • बेल संचार

    • २७ माघ २०८१, आईतवार

भोजपुर ।

भोजपुरबाट यस वर्ष रु ३५ करोड २८ लाख बराबरको सुन्तला निर्यात भएको छ। चार हजार दुई सय मेट्रिकटन सुन्तला बिक्री हुँदा सो बराबरको रकम जिल्ला भित्रिएको कृषि ज्ञान केन्द्र, भोजपुरले जनाएको छ।

हाल भोजपुरमा ९५० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती विस्तार गरिए पनि ७९० हेक्टर क्षेत्रफलमा मात्र उत्पादन दिने गरेको छ। कृषि ज्ञान केन्द्र भोजपुरका प्रमुख मुकेशकुमार यादवका अनुसार सुन्तला खेती विस्तार भएसँगै आगामी वर्षहरूमा निर्यातको परिमाण अझ बढ्ने देखिएको छ।

उनका अनुसार सुन्तलामा लाग्ने रोग र किराहरूको व्यवस्थापन, स्थलगत अभ्यासमूलक तालिम, तथा किसानलाई आवश्यक उपकरण हस्तान्तरण गर्दै आएको छ। पछिल्लो समय किसान सुन्तलाखेतीप्रति आकर्षित भएकाले खेतीको क्षेत्रफल हरेक वर्ष बढिरहेको छ।

भोजपुरका सबै स्थानीय तहमा सुन्तला उत्पादन हुने भए पनि भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, र टेम्केमैयुङ गाउँपालिका सुन्तला पकेट क्षेत्रका रूपमा विकास गरिएका छन्।

पहिले स्थानीय बजारमै सीमित रहेको भोजपुरको सुन्तला, सडक सञ्जालको विस्तारसँगै धरान, इटहरी, विराटनगर, काठमाडौं लगायतका सहरहरूमा निर्यात हुन थालेको छ।

गत वर्ष रु २९ करोड बराबरको सुन्तला निर्यात भएको थियो। यस वर्ष निर्यात ६ करोड २८ लाखले वृद्धि भई ३५ करोड २८ लाख पुगेको छ। स्थानीय किसानहरूले पनि बाहिरी जिल्लामा राम्रो मूल्य पाउन थालेका छन्, जसले उनीहरूलाई आर्थिक रूपमा सबल बनाउने विश्वास गरिएको छ।

साताकाे चर्चित
सम्बन्धित