मनाङ ।
मनाङ जिल्लाको चामे गाउँपालिका–1 स्थित तिमाङ जङ्गलमा लागेको डढेलो दस दिनसम्म पनि नियन्त्रणमा आउन सकेको छैन। यही माघ १८ गते बेलुकीदेखि लागेको डढेलो जटिल भौगोलिक संरचनाका कारण नियन्त्रण गर्न कठिन भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी मातृका आचार्यका अनुसार डढेलो नियन्त्रणका लागि जिल्लाका सबै सुरक्षा संयन्त्र परिचालन गरिएको छ। उनले भने, ‘स्थानीयवासी पनि सक्रिय भएर डढेलो निभाउने प्रयासमा जुट्नुभएको छ, तर हालसम्म पूर्ण रूपमा नियन्त्रणमा लिन सकिएको छैन।’ समयमै नियन्त्रण गर्न नसक्दा जङ्गलमा रहेका भेडा, च्याङ्ग्रा, याक, चौरीका चरन क्षेत्र नष्ट भएका छन्।
प्रजिअ आचार्यले आगलागी बस्तीभन्दा टाढाको जटिल भूगोलमा भएकाले नियन्त्रणमा कठिनाइ भइरहेको बताए। हावा चल्ने हुँदा डढेलोको जोखिम अझै बढ्ने सम्भावना रहेको उनले उल्लेख गरे। साथै, राष्ट्रिय पन्छी डाँफेको बासस्थान र नवप्रस्फुटित लालीगुँरासका बोट समेत नष्ट भएका छन्। सुरक्षाकर्मी र स्थानीयले मिलेर जानसक्ने स्थानसम्म पुगेर आगो निभाउने प्रयास जारी राखेका छन्।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालयका प्रमुख ढकबहादुर भुजेलका अनुसार हिउँ नपर्नु, सुक्खा मौसम र वनमा भएका सुकेका ठुटाहरूका कारण आगलागी भएको हो। उनले भने, ‘संरक्षण क्षेत्रमा प्रत्येक वर्ष आगलागी हुने गरेको छ। यस वर्ष विशेष गरी सुख्खायाम बढी भएकाले आगो नियन्त्रण गर्न थप समस्या भएको छ।’ लामो समयसम्म आगलागी हुँदा पशुपन्छी अन्यत्र सर्ने गरेका छन्, जसले गर्दा वन्यजन्तुहरूको बासस्थान ध्वस्त हुँदै गएको भुजेलले जानकारी दिए।
उनका अनुसार, डढेलोका कारण सल्लाको काठ, धुपी जस्ता बहुमूल्य वनस्पति तथा औषधीय जडीबुटीहरू समेत नष्ट हुने सम्भावना रहेको छ। झारपात र सुक्खा पातपतिङ्गरले आगो झन् फैलन सक्ने जोखिम रहेको बताउँदै उनले भने, ‘सुक्खायाम र हुरीबतासका कारण आगो नियन्त्रणमा चुनौती भइरहेको छ।’ यदि आगलागी तुरुन्त नियन्त्रण गर्न नसकिए यसको क्षेत्रफल अझै बढ्ने सम्भावना रहेको छ। वनआलु, लौडसल्ला, जटामसी, पाँचऔंले, गुची च्याउ लगायतका जडीबुटीहरू डढेलोका कारण नष्ट हुन थालेका छन्।
आगलागीले चराचुरुङ्गी, वन्यजन्तुको बासस्थान तहसनहस पार्नुका साथै याकचौँरीका चरन क्षेत्र समेत क्षतिग्रस्त भएको छ। यस वर्षको मङ्सिरयता ताल, आइसलेक, पिसाङ भिरलगायतका क्षेत्रमा समेत आगलागी भइसकेको छ।
यसअघि, विसं २०७७ मङ्सिर २ गतेदेखि लागेको डढेलो नियन्त्रण गर्न दुई महिना लागेको थियो, जसले मनाङको १,२०० हेक्टर वनक्षेत्र नष्ट गरेको थियो। तिमाङ जङ्गलमा फैलिएको डढेलो यथाशीघ्र नियन्त्रण गर्न तीनै तहका सरकारहरूले प्रभावकारी पहल गर्नुपर्ने माग स्थानीयवासीले गरेका छन्।