म्याग्दी ।
म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–७ मा अवस्थित सुनछहरा पूर्वाधार र पर्यटकको पर्खाइमा छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो स्थल पर्याप्त सम्भावना बोके पनि आवश्यक पूर्वाधारको विकास र प्रचारप्रसारको अभावका कारण ओझेलमा परेको छ। व्यवस्थित पदमार्ग र झोलुङ्गे पुलको अभावले गर्दा पर्यटकहरू सुनछहरासम्म पुग्न सकेका छैनन्।
चिमखोलाका बासिन्दा ललित गर्बुजाका अनुसार सुनछहराको धार्मिक र पर्यटकीय महत्व रहेको भए पनि प्रचारप्रसारको अभावमा यसको विशेषता स्थानीय स्तरमै सीमित छ। उनले भने, “धौलागिरि हिमालको आधार शिविर क्षेत्रमा पर्ने सुनछहराको पूर्वाधार विकास र प्रवर्द्धन आवश्यक छ।”
भारतीय सेनामा कार्यरत गर्बुजाको नेतृत्वमा मण्डली युवा क्लबका पदाधिकारी, पर्यटन व्यवसायी, र सञ्चारकर्मीहरूको टोलीले हालै ३,९५० मिटर उचाइमा रहेको सुनछहरा भ्रमण गरेको थियो।
किम्बदन्तीअनुसार परापूर्वकालमा एक जना बाजा बजाउने व्यक्ति ध्यान गर्न सुनछहरामा पुगेका थिए। भगवान् प्रशन्न भई बर माग्न आग्रह गरेपछि उनले सुन मागे। भगवान्ले गुफाबाट हातले हटाए जति सुन लैजान आशीर्वाद दिए। तर, ती व्यक्तिले धेरै निकाल्न खोज्दा बाढीले बगाएको र त्यसपछि यसको नाम ‘सुनछहरा’ रहन गएको जनविश्वास छ।
छहराभित्र रहेको गुफाका भित्ताहरू पहेँलो रंगका भएकाले पनि यसको नाम सुनछहरा रहन गएको स्थानीयवासी बताउँछन्। यहाँ विभिन्न देवी-देवता र जनावरका आकृतिहरू देख्न सकिन्छ। साथै, गुफाभित्र हिर्काउँदा बाजाको आवाज आउने अद्भुत विशेषता रहेको छ।
रघुगंगा गाउँपालिका–७ का वडा अध्यक्ष थकबहादुर पाईजाका अनुसार धौलागिरि आधार शिविरसम्म पुग्ने पदमार्ग निर्माण सुरु गरिएको छ। सुनछहरा जाने बाटोमा पर्ने रघुगंगा नदीमा झोलुङ्गे पुल निर्माणका लागि पहल भइरहेको छ। हाल पदमार्ग नहुँदा पर्यटकहरूलाई जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ।
हिउँदमा सुनछहराको पानी जमेर हिउँ बन्ने र मनमोहक दृश्य सिर्जना हुने अर्को विशेषता हो। करिब १५ मिटर अग्लो यो झरनाभित्र पाँच मिटर लामो गुफा रहेको छ। स्थानीय विश्वास अनुसार, यहाँ दर्शन तथा पूजाआजा गरेमा मनोकांक्षा पूरा हुन्छ।
बेनीदेखि चिमखोला हुँदै सुगुरथला सम्म चार घण्टाको सवारी यात्रापछि सुनछहराको यात्रा सुरु हुन्छ। त्यहाँबाट थप एक दिनको पैदल यात्रापछि मात्र सुनछहरासम्म पुग्न सकिन्छ। वैशाख-जेठ महिनामा यार्सा संकलन गर्न स्थानीयहरू यहाँ बास बस्ने गर्छन्। तर, सुगुरथलासम्म मात्रै होटल तथा रेस्टुरेन्टको सुविधा उपलब्ध छ। त्यसपछि यात्रुहरूले आफैं बन्दोबस्त गर्नु पर्ने हुन्छ।
पोखराका पर्यटन व्यवसायी तारा गर्बुजाका अनुसार व्यवस्थित पदमार्ग र झोलुङ्गे पुल निर्माण भएमा पर्यटकहरूको आकर्षण बढ्नेछ। हाल झोलुङ्गे पुल नहुँदा राहुघाट वारपार गर्न जंघार तर्नुपर्ने बाध्यता छ। बर्खायाममा नदीको बहाव बढ्दा वारपार गर्न असम्भव हुन्छ।
अध्ययन टोलीका सदस्य सुरेन गुरुङका अनुसार सुनछहरा क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि मार्गचित्र निर्माण, सङ्केत चिन्हहरू राख्ने, र सुरक्षित यात्रा सुनिश्चित गर्ने उपायहरू आवश्यक छन्। सुनछहराबाट रिखार, धौलागिरि आधार शिविरको अस्ट्रेलियन क्याम्प, कालीबराह, र मुस्ताङसम्मको यात्रा सम्भव छ। तर, बाटो नचिनेका व्यक्तिहरूका लागि हराउने जोखिम रहेकोले उचित व्यवस्था आवश्यक रहेको छ।
पर्यटन पूर्वाधारको विकास र प्रचारप्रसार गरिएमा सुनछहरा म्याग्दीको प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना रहेको छ।