काठमाडौँ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, परिवार कल्याण महाशाखाले परिवार व्यवस्थापन सेवालाई अझ प्रभावकारी बनाउन साझेदारी ढाँचामा सेवा प्रदान गर्न थालेको छ। विशेषगरी बृहत् महिला स्वास्थ्य शिविर सञ्चालनका लागि सेवाप्रदायक संस्थाहरूसँग सहकार्य गर्दै समन्वयात्मक नीति अवलम्बन गरिएको छ।
मन्त्रालयका अनुसार यस नयाँ मोडलले परिवार व्यवस्थापन सेवाको प्रभावकारिता बढाएको छ। साथै, मन्त्रालयले परिवार व्यवस्थापन सेवाका लागि घरदैलो सेवा उपलब्ध गराउँदै आएको छ। जिल्ला जनस्वास्थ्य कार्यालयले पालिका तहसँग समन्वय गर्दै आवश्यक सेवाग्राही पहिचान गर्ने र सेवाग्राहीलाई पायक पर्ने स्थानमा बन्ध्याकरण शिविर आयोजना गर्ने कार्यप्रणाली अवलम्बन गरिएको छ।
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालका अनुसार परिवार व्यवस्थापन सेवामा पहुँच पुर्याउन बन्ध्याकरण शिविर सञ्चालनमा नयाँ मोडल अपनाइएको छ। उनले भने, “यस मोडेलबाट सेवाग्राहीले आफूले चाहेको स्थानमा गुणस्तरीय सेवा पाउन थालेका छन्।”
परिवार योजना तथा प्रजनन स्वास्थ्य शाखाका प्रमुख शर्मिला दाहाल पौडेलले परिवार नियोजनका साधनको प्रयोग बढाउन सेवा सुदृढ गर्नु आवश्यक रहेको बताइन्। उनले भनिन्, “विशेषगरी बन्ध्याकरण शिविर सञ्चालनका लागि सेवाप्रदायक संस्थाहरूसँग सहकार्य गर्न जरुरी छ। हामीले संघीयतामा समन्वयात्मक ढाँचा अवलम्बन गरेका छौँ।”
नेपालमा लामो समयदेखि परिवार व्यवस्थापन तथा सुरक्षित गर्भपतन सेवा प्रदान गर्दै आएको एमएसआई नेपालले मन्त्रालयद्वारा सञ्चालन गरिएको बृहत् बन्ध्याकरण शिविरको मोडालिटी प्रभावकारी रहेको बताएको छ। एमएसआई नेपालका वरिष्ठ सल्लाहकार केपी उपाध्यायका अनुसार जिल्ला जनस्वास्थ्य कार्यालयले पालिका तहहरूसँग समन्वय गरी बन्ध्याकरण शिविर सञ्चालन गर्दै आएको छ।
“शिविर सञ्चालनका लागि सम्बन्धित निकायहरूसँग समझदारी गरिन्छ,” उपाध्यायले भने। “पालिका तहले शिविर सञ्चालन गर्ने स्थान छनोट गर्छ, सेवाग्राहीलाई घरदैलोमै जानकारी दिइन्छ, र साझेदार संस्था सुनौलो परिवार नेपालको ‘मेडिकल टिम’ मार्फत सेवा प्रदान गरिन्छ।”
सन् २०२४ मा एमएसआई नेपालले विभिन्न पालिकासँग सहकार्य गरी रौतहट, धनुषा, बारा, पर्सा, सर्लाही, सप्तरी, महोत्तरी, सिराहा, बर्दिया, नवलपरासी (पश्चिम), मोरङ, कपिलवस्तु, रोल्पा, कैलाली, दाङ, बैतडी, डडेलधुरा, बागलुङ, गोरखा, लमजुङ, प्युठान, कैलाली, धादिङ, सुनसरी र सिन्धुली जिल्लामा बन्ध्याकरण शिविर सञ्चालन गर्यो।
शिविरमार्फत निम्न संख्यामा सेवाग्राहीहरूले सेवा प्राप्त गरेका छन्:
महिला बन्ध्याकरण सेवाप्रति आकर्षण देखिए पनि पुरुष बन्ध्याकरण न्यून रहेको देखिएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुडाथोकीका अनुसार २० वर्षभन्दा कम उमेरमा विवाह न्यूनीकरण, परिवार नियोजन सेवामा पहुँच वृद्धि, सुरक्षित गर्भपतन सेवाको विस्तार, र यौन तथा प्रजनन स्वास्थ्य चेतना अभिवृद्धि गर्न अझै चुनौतीहरू रहेका छन्।
उनका अनुसार, नेपालमा ३५% किशोरीहरू १८ वर्षभन्दा कम उमेरमा विवाह गर्छन् भने १०% को विवाह १५ वर्ष उमेरमै हुने गरेको छ। कानुनी विवाह उमेर २० वर्ष भए पनि ४१% महिलाको विवाह १०–१८ वर्ष उमेरमा, र ७६% को विवाह २० वर्षभित्र हुने गरेको छ।
पछिल्लो जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण (२०२२) अनुसार:
नेपालमा जन्मदर घट्नु र असुरक्षित गर्भपतन बढ्नु गम्भीर चिन्ताको विषय बनेको छ। स्वास्थ्य मन्त्रालयले यी समस्याहरू समाधान गर्न सरकारी तथा गैरसरकारी संस्थाहरूसँग सहकार्यलाई अझ सुदृढ बनाउने बताएको छ।