दाङ।
घोराही उपमहानगरपालिका–१६, तेरौटे निवासी प्रतीक लोहनी विगत दुई वर्षदेखि व्यावसायिक कागतीखेती गर्दै आएका छन्। लामो समय अमेरिका बसेर अध्ययन तथा रोजगारी गरिसकेका लोहनीले पुर्ख्यौली थलोमा फर्किएर चार बिघा जमिनमा सुन कागतीको व्यावसायिक खेती सुरु गरेका हुन्।
लोहनीले गत वर्ष पर्वतबाट ल्याइएका १,५५० बिरुवा रोपेका थिए। साधारणतया सुन कागतीका बिरुवाले तीन वर्षमा फल दिन थाल्ने भनिए पनि, तेरौटेमा रोपेका केही बिरुवामा दुई वर्षमै फल लाग्न सुरू भएको छ।
“यो वर्षका फल परीक्षणकै रूपमा छन्, तर आगामी वर्षदेखि व्यावसायिक उत्पादन दिन्छ भन्नेमा विश्वस्त छु,” लोहनी बताउँछन्। रोग प्रतिरोधात्मक क्षमता राम्रो, उत्पादन उच्च, र बजारमा निरन्तर माग रहने भएकाले आफूले सुन कागती खेती रोजेको उनले बताए।
कागतीखेतीमा गोडमेल तथा हेरचाहका लागि दुई जनालाई रोजगारी दिएका लोहनीले प्राङ्गारिक मलसमेत आफैं उत्पादन गर्दै आएका छन्। खेतीका लागि प्रतिकट्ठा वार्षिक तीन हजार रुपैयाँ भाडा तिरेर जमिन लिएका उनी थोपा सिँचाइ प्रविधि प्रयोग गर्दै प्रत्येक बोटमा आवश्यक मात्रामा पानी पुर्याउने व्यवस्था मिलाएका छन्।
लामो समय अनुपयोगी रहेको जमिनलाई व्यावसायिक खेतीमा रुपान्तरण गर्दै लोहनीले तेरौटे गाउँलाई ‘ग्रिन भिलेज’ को रूपमा विकास गर्ने लक्ष्य राखेका छन्। कागतीखेतीसँगै टमाटर तथा अन्य तरकारीखेती पनि सुरु गरिसकेको उनले बताए।
लोहनी सिभिल इन्जिनियर हुन्। अमेरिकाबाट फर्किएर केही वर्ष काठमाडौंमा अध्यापन र हाइड्रोपावर कम्पनीमा कार्यरत उनी स्वदेशमै स्वरोजगार बन्ने उद्देश्यले गाउँ फर्किएका हुन्।
“सधैं अरूकै लागि काम गर्ने कि आफ्नै लागि पनि केही गरौँ भन्ने सोचले कागतीखेती थालेको हुँ,” लोहनी भन्छन्। उनले अन्य तरकारीको तुलनामा कागतीमा रोग सङ्क्रमणको डर कम, उत्पादन बढी, र बिक्रीको समस्या नहुने भएकाले कागतीखेती रोजेको बताए।
प्रतीक लोहनीको व्यावसायिक कागतीखेतीले गाउँमै रोजगारी सिर्जना गर्दै स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उदाहरण प्रस्तुत गरेको छ। उनको सफलताले गाउँमा आधुनिक कृषि तथा व्यावसायिक खेतीका सम्भावनाहरू उजागर गरेको छ।