अध्यक्ष चित्रबहादुर केसी : सरकारलाई विपिन जोशीको रिहाइका लागि पहल गर्न माग
अध्यक्ष चित्रबहादुर केसी : सरकारलाई विपिन जोशीको रिहाइका लागि पहल गर्न माग
    • बेल संचार

    • २९ माघ २०८१, मंगलवार

काठमाडौँ ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्यालेस्टिनी समूह हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि भइरहेको पहलबारे संसद्लाई जानकारी गराउन सरकारसँग माग गरेका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष केसीले विपिन जोशी जीवित रहेको चर्चा भए पनि सरकारले औपचारिक जानकारी नदिएको भन्दै प्रश्न उठाए। उनले जोशीको रिहाइका लागि सरकारले के कस्ता प्रयत्न गरिरहेको छ भनेर स्पष्ट पार्नुपर्ने माग गरे।

“इजरायल र हमासबीचको द्वन्द्वमा पचासौँ हजार मानिस मारिए। दुई पक्षबीच शान्ति सम्झौता भएपछि विभिन्न देशका बन्दीहरू रिहा भए। तर, कञ्चनपुरका विपिन जोशीको अवस्था अझै अज्ञात छ,” अध्यक्ष केसीले भने।

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलको गाजा क्षेत्रमा आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो भने चार जना घाइते भएका थिए। सोही क्रममा हमासले विपिन जोशीलाई नियन्त्रणमा लिएर गाजातर्फ लगेको बताइएको छ। तर, झन्डै चार महिना बितिसक्दा पनि उनको अवस्थाबारे कुनै औपचारिक जानकारी आएको छैन।

अध्यक्ष केसीले सरकारलाई तत्काल आवश्यक पहल गरी जोशीको अवस्था स्पष्ट पार्न र उनको सकुशल रिहाइ सुनिश्चित गर्न आग्रह गरेका छन्।

साताकाे चर्चित
सम्बन्धित