एक महिनासम्म चलेको स्वस्थानी व्रत कथा सम्पन्न
एक महिनासम्म चलेको स्वस्थानी व्रत कथा सम्पन्न
    • बेल संचार

    • ३० माघ २०८१, बुधबार

काठमाडौं ।

माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ। पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले घर-घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गर्न लागिएको हो।

पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन्। त्यसैदिनदेखि सुरु गरिएको स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रूपमा भन्ने र सुन्ने काम पनि आजैदेखि अन्त्य गरिँदैछ।

व्रत समापनको क्रममा व्रतालुले १०८ जनै, सुपारी, पान, फूल, रोटी, अक्षता, विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई भगवतीलाई अर्घ्य दिने परम्परा रहेको छ। चढाइएका प्रसादमध्ये आठ-आठ वटा पति, छोरा, मीत छोरा वा कुनै नजिकको पवित्र नदीमा लगेर विसर्जन गर्ने चलन रहेको छ।

व्रत समापनको रात व्रतालुले सय रोटी फलाहार गरी जाग्राम बस्ने र देवीको माहात्म्य सुन्ने-सुनाउने गर्छन्। स्वस्थानी व्रत गर्दा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ। स्वस्थानीको शाब्दिक अर्थ “आफू बसेको स्थानको देवी” भन्ने बुझिन्छ। उत्तरायणपछिको समय ध्यान, योग साधनाका लागि उपयुक्त मानिन्छ, त्यसैले यो व्रतलाई आत्मशुद्धि र साधनाको रूपमा लिइन्छ।

स्वस्थानी देवीको स्वरूप

स्वस्थानी देवी सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा विराजमान, चार हात भएकी देवी हुन्। चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हात वरदमुद्रामा रहेको छ।

धार्मिक मान्यता अनुसार, विधिपूर्वक स्वस्थानी व्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन हुन्छ, रोग व्याधि हट्छ, र इच्छित वर वा वधू प्राप्त गर्न सकिन्छ। सत्ययुगमा पार्वतीले महादेवलाई पति पाउने उद्देश्यले स्वस्थानी व्रत गरेको कथा उल्लेख छ। व्रतकै प्रभावले बिछोडमा परेका नाग-नागिनीको पुनर्मिलन भएको धार्मिक विश्वास रहेको छ।

गोमा ब्राह्मणीको कथा

स्वस्थानी व्रत कथामा गोमा ब्राह्मणीको कथा महत्वपूर्ण छ। सप्तऋषिले सिकाएको व्रत विधिअनुसार गोमा ब्राह्मणीले स्वस्थानी व्रत गरेपछि पुत्र वियोगबाट मुक्ति पाइन्। व्रतकै प्रभावले उनका छोरा नवराज लावण्य देश (हालको साँखु) को राजा बनेका थिए। इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’ का अनुसार, साँखु क्षेत्र स्वस्थानी व्रतसँग गहिरो धार्मिक, पुरातात्विक, सांस्कृतिक र पर्यटकीय महत्व राख्छ।

शालिनदीमा माधवनारायण व्रत पनि सम्पन्न

काठमाडौं उपत्यकाको पूर्वी भागस्थित शालिनदीमा पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधवनारायण व्रत पनि आज अश्वमेध यज्ञ गरी समापन गरिँदैछ। करिब दुई सय महिला-पुरुषले एक महिना लामो कठोर माधवनारायण व्रत गरेका छन्। नेवार समुदायले आजको दिनलाई “सि पुन्हि” का रूपमा मनाउने परम्परा रहेको छ।

नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार, आज मध्याह्न कालपछि विधिपूर्वक पूजा गरी व्रत समापन गरिन्छ। त्यसपछि रातभर जाग्राम बसेर बिहीबार बिहान फूलपाती नदीमा सेलाएपछि यो वर्षको स्वस्थानी व्रत विधिपूर्वक सम्पन्न हुनेछ।

 

साताकाे चर्चित
सम्बन्धित