गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा वर्षौंदेखि बाँझो रहेका ५ सय रोपनी जमिनमा व्यावसायिक ओखर खेती सुरु गरिएको छ। किसानहरूको आर्थिक आयमा वृद्धि ल्याउनका लागि सुलिकोट ३ स्वाँरा र ४ को सौरपानीमा ओखर खेतीको थालनी गरिएको हो।
गाउँपालिका कृषि शाखाका प्रमुख सन्तोष ढकालका अनुसार, किसानलाई अनुदान कार्यक्रममार्फत ओखर खेतीको शुरु गरिएको हो। “कागतेखर्क बहुउद्देशीय कृषक समूह गठन गरेर, समुहमा आवद्ध किसानलाई प्राविधिकको सुझाव अनुसार बेर्ना वितरण गरिएको हो,” उनले भने।
मुख्यमन्त्री नवप्रर्वद्धन कार्यक्रम र गाउँपालिकाको लागत साझेदारीमा किसानलाई २ हजार २ सय ओखरका बेर्ना वितरण गरिएको हो। सोहीअनुसार, गाउँपालिकाले जुम्लाबाट कलमी गरिएको ओखरका विरुवा खरिद गरेर किसानलाई वितरण गरेको छ।
चारवटा ‘प्लट’मा विभाजन गरिएका यी जमिनमा बेर्ना रोप्न थालिएको छ र प्रत्येक १० मिटरको फरकमा खाडल खनी आवश्यक मलखादको व्यवस्था गरी किसानहरूले रोपाइ सुरु गरेका छन्।
ओखरका विरुवा ४ वर्षपछि उत्पादन दिन सुरु गर्ने अनुमान गरिएको छ। प्राविधिक टोलीले माटो परीक्षण गर्दा ती क्षेत्र ओखर खेतीका लागि अत्यन्त उपयुक्त रहेको पुष्टि भएको हो।
यो परियोजनामा कुल रु १० लाखको लागत आएको छ, जसमा विरुवा खरिद र ढुवानीको खर्चसमेत समावेश छ।