डाउन सिण्ड्रोम समाज नेपाल द्वारा धादिङमा असल र खराब छुवाई सम्बन्धी तालिम प्रदान गरियो
डाउन सिण्ड्रोम समाज नेपाल द्वारा धादिङमा असल र खराब छुवाई सम्बन्धी तालिम प्रदान गरियो
    • शर्मिला विश्वकर्मा

    • १ फाल्गुन २०८१, बिहीबार

धादिङ 

डाउन सिण्ड्रोम समाज नेपालले अष्ट्रेलियन एड (Australian Aid ) को सहयोगमा धादिङ जिल्लामा डाउन सिण्ड्रोम अपाङ्गता भएका महिलाहरू, उनीहरूका आमाहरू तथा संरक्षक र शिक्षिकाहरूलाई गत माघ २३ गते देखि २७ गते सम्म ५ दिन असल र खराब छुवाई सम्बन्धी तालिम प्रदान गरेको छ । तालिमका क्रममा आयोजक संस्था डाउन सिण्ड्रोम समाज नेपालकी अध्यक्ष शिला थापाले डाउन सिण्ड्रोम अपाङ्गता भएका महिलाहरूलाई उनीहरू माथि हुने विभिन्न प्रकारका हिंसा विरुद्ध प्रतिकार गर्नको लागि पूर्व तयारी गराउने, आफ्ना घरपरिवार, आफन्त, नातेदार तथा अपरिचित व्यक्तिहरूबाट गरिने छुवाई, ती छुवाइहरूलाई आफ्ना अभिभावक तथा विश्वासिला व्यक्तिहरूलाई व्यक्त गरी सुरक्षित रहन सक्ने बनाउने उद्देश्यले विभिन्न पहुँचयुक्त तालिम सामाग्रीको प्रयोग गर्दै डाउन सिण्ड्रोम अपाङ्गता भएका छोरी तथा अभिभावक र शिक्षकहरूलाई असल तथा खरब छुवाई सम्बन्धी तालिम प्रदान गरेको बताउनु भयो ।

यो ५ दिने तालिममा डाउन सिण्ड्रोम समाज नेपालकी अध्यक्ष शिला थापाले छुवाइका विषयमा जानकारी दिँदै खराब छुवाइले हिंसा हुने भन्दै शरीरका संवेदनशील अङ्गका विषयमा पनि जानकारी गराउनु भएको थियो । साथै उहाँले यस तालिमका क्रममा डाउन सिण्ड्रोम अपाङ्गताका विषयमा जानकारी गराउँदै यसका लक्षणहरू, डाउन सिण्ड्रोम अपाङ्गता भएका व्यक्तिहरूको अवस्था, अभिभावकहरू तथा डाउन सिण्ड्रोम समाज नेपालले सञ्चालन गरेका विभिन्न कार्यक्रमहरूबाट उनीहरूमा आएको सकारात्मक परिवर्तन लगायतका विषयमा सहभागीहरूलाई बुझाउनु भयो ।

तालिमका क्रममा उहाँले परिवार, समाज र समुदायका बारेमा पनि तालिमका क्रममा बुझाउनु भएको थियो । त्यसै गरी सहजकर्ता महालक्ष्मी श्रेष्ठले तालिममा सहभागीहरू डाउन सिण्ड्रोम अपाङ्गता भएका महिलाहरू, उनीहरूका अभिभावक तथा शिक्षिकाहरूलाई लाई चित्रद्वारा शरीरका अङ्गहरू चिनाउँदै प्रयोगात्मक अभ्यास गराउनु भएको थियो । साथै उहाँले तालिमका क्रममा शरीरको कुन अङ्गमा कसरी छुँदा खराब हुने भन्ने विषयमा मेरो शरीर मेरो नियमका बारेमा, असर र खराब छुवाई कसरी हुन्छ ?, को बाट हुन्छ ? भन्ने विषयमा, संयुत परिवार र एकल परिवार, घर परिवार तथा समुदाय लगायतका विषयमा जानकारी गराउनु भयो ।

उक्त तालिममा सहभागीहरूलाई सहज तरीकारले बुझ्न सजिलो होस् भनेर असल र खराब छुवाइका विषयमा विभिन्न पहुँचयुक्त तालिम सामाग्रीहरू जस्तै: नाटक, चित्रहरू, रङ्, पुतली तथा डमीहरू, लगायतका स्रोत सामाग्रीहरू प्रयोग गर्दै व्यवहारिक विधिद्वारा तालिम सञ्चालन गरिएको थियो । डाउन सिण्ड्रोम समाज नेपालले अष्ट्रेलियन एड (Australian Aid ) को सहयोगमा माघ २३ गते देखि २७ गते सम्म धादिङमा सञ्चालन गरेको असल र खराब छुवाई सम्बन्धी तालिमको समापन कार्यक्रमका क्रममा कार्यक्रमका प्रमुख अतिथि एवं नीलकण्ठ नगरपालिका वडा नं ३ का कार्यवाहक अध्यक्ष सन्तोष थापाले तालिममा सहभागीहरूलाई प्रमाण पत्र प्रदान गर्दै धादिङ जिल्लाको नीलकण्ठ नगरपालिकाको वडा नं ३ मा यो असल र खराब छुवाई सम्बन्धी अति नै महत्त्वपूर्ण तालिम सञ्चालन गरी यहाँका डाउन सिण्ड्रोम अपाङ्गता भएका महिला. उनीहरूका अभिभावक तथा शिक्षिकाहरूलाई पनि ज्ञान प्रदान गरिदिनु भएको भन्दै आयोजक संस्थालाई धन्यवाद दिनु भयो ।

साथै उहाँले यस तालिमले गर्दा आफूले पनि डाउन सिण्ड्रोम अपाङ्गताको विषयमा जानकारी पाउन सकेको भन्दै अबका दिनमा डाउन सिण्ड्रोम अपाङ्गता भएका व्यक्तिहरूलाई विशेष ध्यान दिई उनीहरूको शिक्षा, सिकाई, विभिन्न हिंसाबाट सुरक्षित रहनको लागि अति नै उपयोगी असल र खराब छुवाई सम्बन्धी तालिम सञ्चालनका लागि वडा बाट पहल गर्ने, डाउन सिण्ड्रोम अपाङ्गता भएका व्यक्तिहरूको सही तथ्याङ्क सङ्कलनका लागि र उनीहरूका सवालमा कार्यक्रम सञ्चालन गर्न आगामी कार्य योजना र बजेटमा पनि समावेश गर्न वडामा छलफल गर्ने प्रतिवदता व्यक्त गर्नु भयो । साथै उहाँले सहभागीहरूलाई यस तालिममा सिकेका सीपहरूको सही उपयोग गर्नु हुन पनि आग्रह गर्नु भयो । यसै क्रममा तालिममा सहभागी शिक्षिका सम्झना रिजालले डाउन सिण्ड्रोम समाज नेपालले आयोजना गरेको यस असल र खराब छुवाई सम्बन्धी तालिम अति नै उपयोगी रहेको, यस तालिममा डाउन सिण्ड्रोम अपाङ्गताको विषयमा जानकारी पाएको र यस तालिमका क्रममा सिकेका सीपलाई विद्यालय, समुदायमा पनि सिकाउने भन्दै यस महत्त्वपूर्ण तालिम प्रदान गर्नु भएकोमा आयोजकलाई विशेष आभार व्यक्त गर्नु भयो ।

सो तालिममा डाउन सिण्ड्रोम अपाङ्गता भएका महिलाहरू, उनीहरूका अभिभावकहरू, शिक्षिकाहरू गरी १७ जनाको सहभागिता रहेको थियो । यस तालिमका क्रममा सहभागी अभिभावकहरूले यो तालिम अति नै उपयोगी रहेको, असल र खराब छुवाइका बारेमा जानकारी लिँदा पहिला शरीरका अङ्गहरू चिन्नु पर्ने, चिनाउनु पर्ने, संवेदनशील तथा प्राइभेट पार्टहरूको बारेमा जानकारी हुनु पर्ने, आफ्नो, आफन्त तथा घर नजिकका, समाजका व्यक्तिहरूको बारेमा उनीहरूलाई जानकारी गराउनु पर्ने, छुवाइका बारेमा पनि अवगत गराउनु पर्ने लगायतका कुराहरू सिक्न पाएको र यो सिकेको कुराहरूलाई आफ्ना छोरीहरू तथा छरछिमेकमा पनि सिकाउने बताउनु भएको थियो ।

साताकाे चर्चित
सम्बन्धित