नसर्ने रोग विरुद्धको निःशुल्क स्क्रिनिङ अभियान सुरु : स्वास्थ्य मन्त्री पौडेलको अपिल
नसर्ने रोग विरुद्धको निःशुल्क स्क्रिनिङ अभियान सुरु : स्वास्थ्य मन्त्री पौडेलको अपिल
    • बेल संचार

    • १ फाल्गुन २०८१, बिहीबार

काठमाडौँ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नसर्ने रोगहरूको रोकथामका लागि स्वास्थ्य मन्त्रालयले आजदेखि सुरु गरेको निःशुल्क स्क्रिनिङ अभियान सफल पार्न सबैलाई अपिल गरेका छन्।

एक सन्देश जारी गर्दै मन्त्री पौडेलले नेपालमा हुने कुल मृत्युको झन्डै तीन चौथाई हिस्सा नसर्ने रोगले ओगटेको उल्लेख गरे। जलवायु परिवर्तन र बढ्दो सहरीकरणका कारण यी रोगहरू थप जटिल बन्दै गएकाले प्रभावकारी रोकथामका लागि नयाँ रणनीति आवश्यक भएको उनले बताए।

यसै समस्यालाई सम्बोधन गर्न सामुदायिक सहभागिताका साथ स्थानीय तहमा स्वास्थ्य प्रवद्र्धनात्मक, प्रतिकारात्मक तथा उपचारात्मक सेवा व्यवस्थित गर्न पहल गरिएको उनले जानकारी दिए।

मन्त्री पौडेलका अनुसार फागुन महिनालाई नसर्ने रोग पहिचान अभियानका रूपमा सञ्चालन गर्ने निर्णय गरिएको छ। यो अभियान अन्तर्गत नेपालभरका ३० वर्ष उमेरभन्दा माथिका नागरिकहरूलाई मधुमेह, उच्च रक्तचाप, मृगौला रोग तथा उचाइ-तौलको अनुपात जाँच गरिनेछ। समयमै पहिचान गरेर रोकथाम तथा व्यवस्थापन गर्ने लक्ष्य राखिएको छ।

मन्त्री पौडेलले स्वास्थ्य संस्थाहरूमा सेवा र उपचारको गुणस्तर अभिवृद्धि गर्न निरन्तर प्रयास भइरहेको उल्लेख गरे। नागरिकको आधारभूत स्वास्थ्य परीक्षण तथा सचेतनामार्फत रोग लाग्नै नदिने वा समयमै उपचारको प्रबन्ध गर्ने सरकारको योजना रहेको उनले स्पष्ट पारे।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार यो अभियानले नागरिकको स्वास्थ्य सुधारका साथै नीति निर्माणमा समेत टेवा पुर्‍याउने अपेक्षा गरिएको छ। मन्त्रालयले आगामी वर्षहरूमा पनि यो अभियानलाई निरन्तरता दिने जनाएको छ।

साताकाे चर्चित
सम्बन्धित