गण्डकी प्रदेश सरकारद्वारा अस्थायी कर्मचारी भर्ना गर्न ल्याएको अध्यादेश आज संसदबाट पारित हुने
गण्डकी प्रदेश सरकारद्वारा अस्थायी कर्मचारी भर्ना गर्न ल्याएको अध्यादेश आज संसदबाट पारित हुने
    • बेल संचार

    • २ फाल्गुन २०८१, शुक्रबार

पोखरा ।

गण्डकी प्रदेश सरकारले अस्थायी कर्मचारी भर्नाका लागि जारी गरेको अध्यादेश आज संसदबाट स्वीकृत हुने तयारी गरिएको छ। प्रदेश सरकारले आफैंले बनाएको निजामती सेवा ऐनले करारमा कर्मचारी राख्न रोक लगाएपछि अध्यादेश ल्याइएको हो।

गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका २७ सिट र नेकपा एमालेका २२ सिट हुँदा दुईतिहाइभन्दा बढी बहुमत छ, जबकि विपक्षमा माओवादीका ७ र राप्रपाका २ सांसद मात्र छन्। कमजोर प्रतिपक्ष भएकाले विधेयक पारित गर्न कुनै समस्या नहुने देखिएको छ।

प्रदेश सभाको बैठकमा गत २१ गते पेश गरिएको अध्यादेशलाई पारित गर्ने कार्यसूची बनाउने तयारी भएको संसद सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिएका छन्।

गण्डकी प्रदेशको निजामती सेवा ऐनले करारमा कर्मचारी राख्न रोक लगाएपछि प्रदेश सरकारले गत पुस ९ गते अध्यादेश जारी गरेको थियो।

गत मंसिर १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले लोकसेवा आयोगसँग परामर्श लिई अध्यादेश ल्याउने निर्णय गरेको थियो। लोकसेवा आयोगले प्रदेश निजामती सेवा ऐन र संघीय ऐन अनुसार करार, ज्यालादारी, अस्थायी कर्मचारी राख्न नमिल्ने भन्दै असहमति जनाएको थियो।

तर, संघीय कानुनको दफा ११ अनुसार अस्थायी नियुक्ति सम्भव हुने भएकाले गण्डकी प्रदेश सरकारले अध्यादेश ल्याएर निजामती सेवा ऐन संशोधन गरेको हो।

  • लोकसेवा आयोगले परीक्षामा सिफारिस नभएका उम्मेदवारहरू मध्येबाट योग्यताक्रम अनुसार सूची प्रकाशन गर्ने।
  • संबन्धित मन्त्रालयले लोकसेवा आयोगलाई अस्थायी नियुक्तिका लागि अनुरोध गर्ने।
  • लोकसेवा आयोगले योग्यताक्रम सूचीबाट सिफारिस गरी मन्त्रालयमा पठाउने।
  • मन्त्रालयले ६ महिनासम्मका लागि अस्थायी नियुक्ति गर्न सक्ने।
  • नियमविपरीत नियुक्ति गरेमा नियुक्ति दिने पदाधिकारीबाट सरकारी बाँकी सरह रकम असुल उपर गरिने।

गण्डकी प्रदेश सभामा हाल छलफलका क्रममा रहेका विधेयकहरूमध्ये प्रमुख विधेयकहरू निम्नानुसार छन्—

  1. औद्योगिक व्यवसाय ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक (माघ १५ गते दर्ता)
  2. कर असुलीसम्बन्धी विधेयक
  3. साझेदारी फर्मको नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक
  4. जिवनाशक विषादी व्यवस्थापनसम्बन्धी विधेयक
  5. सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत–सम्भारसम्बन्धी विधेयक

प्रदेश सरकारले कर संकलनलाई निरन्तरता दिन तथा छुट राजस्व संकलन गर्न सामयिक कर असुली विधेयक पनि संसद सचिवालयमा दर्ता गराएको छ।

संसदबाट अस्थायी कर्मचारी नियुक्ति गर्ने अध्यादेश पारित भइसकेपछि सरकारले त्यसलाई प्रतिस्थापन गर्ने विधेयक ल्याउनेछ। यसले निजामती सेवा ऐनमा अस्थायी नियुक्तिसम्बन्धी प्रावधान थप गर्दै प्रशासनिक प्रक्रियालाई सहज बनाउने सरकारको योजना छ।

साताकाे चर्चित
सम्बन्धित