काठमाडौं।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन्।
सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज भएको भेटमा नेपाल–भारत ऊर्जा सहकार्यका विविध विषयमा छलफल भएको थियो।
भेटका क्रममा ऊर्जामन्त्री खड्काले नेपाल–भारत विद्युत् व्यापार सम्झौता कार्यान्वयन गर्न गठित संयन्त्रहरूबाट विद्युत् व्यापार, थप प्रसारण लाइन निर्माण र भारतीय लगानीका जलविद्युत् आयोजनाहरूका विषयमा भएको उपलब्धिका लागि भारत सरकारलाई धन्यवाद दिए।
बैठकमा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) चाँडो टुंग्याउनेबारे छलफल भएको थियो।
त्यसैगरी, भारतका विद्युत् मन्त्री मनोहरलाल खट्टरको आसन्न नेपाल भ्रमणको विषयमा समेत छलफल भएको ऊर्जा मन्त्रालयले जनाएको छ।
नेपालका लागि भारतका राजदूत श्रीवास्तवले भारतीय लगानीमा नेपालमा निर्माण भइरहेका आयोजनाहरूलाई अगाडि बढाउन आवश्यक सहजीकरण गर्न मन्त्रीसमक्ष आग्रह गरे। साथै, उनले विद्युत् व्यापार, थप प्रसारण लाइनको विकास तथा हरित हाइड्रोजन उत्पादनमा भारतको सधैं साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।