जुम्ला
श्री कालिका आधारभूत विद्यालय, देवारगाउँका प्रधानाध्यापक प्रेम बहादुर हमालले आफ्नो ४४औं जन्मोत्सवको अवसरमा वृक्षरोपण गर्दै उदाहरणीय कार्य गरेका छन्। बिहीबार सम्पन्न यस विशेष कार्यक्रममार्फत उनले विद्यालय प्रांगणमा विभिन्न फलफूलका बिरुवा रोप्दै पर्यावरण संरक्षण र भावी पुस्ताका लागि स्थायी योगदानको संदेश दिएका छन्।
हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर शाहीले प्रधानाध्यापक हमालको यो पहललाई अत्यन्त सराहनीय भन्दै जन्मदिनको हार्दिक शुभकामना व्यक्त गरे। उनले भने, “हमाल सरले आफ्नो जन्मदिनलाई समाजका लागि अर्थपूर्ण बनाउने कार्य गर्नुभएको छ। विद्यालयमा वृक्षरोपण गर्नु केवल वातावरणीय सन्तुलन कायम गर्ने उपाय मात्र होइन, यसले भावी पुस्तालाई स्वच्छ र हराभरा वातावरणको सौगात दिनेछ।
यस्तै, वडा नं. १ का अध्यक्ष रतन बहादुर शाहीले हमालको प्रयासको प्रशंसा गर्दै भने, विद्यालयका विद्यार्थीहरूका लागि यो कार्य प्रेरणादायी बन्नेछ। मेहनती र समर्पित प्रधानाध्यापक पाउनु विद्यालय र समुदायको लागि गर्वको विषय हो। जन्मदिनमा वृक्षरोपण गर्ने उहाँको सोच अनुकरणीय छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोगन बहादुर शाहीले विद्यालयलाई केवल पढ्ने थलो मात्र नभई सिक्ने थलो र भविष्यमा विद्यार्थीहरूलाई व्यवसाही बनाउन सहयोग गर्ने उद्देश्य रहेको बताए। उनले भने, यदि अरु पालिका तथा संघ–संस्थाको निरन्तर सहयोग रहने हो भने हामी विद्यालयलाई ज्ञान प्रदान गर्ने मात्र नभई व्यावसायिक सीप सिकाउने स्थलका रूपमा विकास गर्नेछौं, जसले गर्दा यहाँका विद्यार्थीहरूले आफ्नो उज्जवल भविष्य निर्माण गर्न सकून्।
वृक्षरोपणका लागि जिल्ला कृषि विकास कार्यालय, जुम्लाका प्रमुख रामभक्त अधिकारीले ओखर, स्याउ र आरुका बिरुवा उपलब्ध गराएका थिए। कार्यक्रममा हिमा गाउँपालिकाका पदाधिकारी, विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी तथा स्थानीय व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति थियो।
प्रधानाध्यापक हमालले वृक्षरोपणपछि आफ्नो मन्तव्य व्यक्त गर्दै भने, यो कार्य केवल आजका लागि होइन, भावी पुस्तालाई हरियाली र स्वच्छ वातावरण प्रदान गर्ने हाम्रो जिम्मेवारी पनि हो। साथै, यो कार्यक्रम विद्यार्थीहरूले विद्यालयमा सिक्दै, पढ्दै र कमाउने सोचको विकास गर्न अभिप्रेरित गर्ने उद्देश्यले गरिएको हो। पालिकाले यसको लागि प्रतिबद्धता जनाउनु भएकोमा र जिल्ला कृषि विकास कार्यालयले सहयोग तथा सहानुभूति प्रदान गर्नु भएकोमा म हार्दिक आभार प्रकट गर्न चाहन्छु। यी वृक्षहरू विद्यालयका विद्यार्थीहरूको भविष्यजस्तै समुन्नत र सशक्त बनून् भन्ने मेरो शुभेच्छा छ।
उक्त कार्यक्रमलाई सफल बनाउन विद्यालयका सम्पूर्ण शिक्षक–शिक्षिका, विद्यार्थी तथा कृषि कार्यालयका कर्मचारीहरूको महत्वपूर्ण भूमिका रहेको थियो। हमालले सबैलाई धन्यवाद दिँदै वातावरण संरक्षणका यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन ।