काठेखोला गाउँपालिकाद्वारा महिलालाई आयआर्जनसँग जोड्न मौरीपालन तालिम र घार वितरण
काठेखोला गाउँपालिकाद्वारा महिलालाई आयआर्जनसँग जोड्न मौरीपालन तालिम र घार वितरण
    • बेल संचार

    • ४ फाल्गुन २०८१, आईतवार

बागलुङ ।

काठेखोला गाउँपालिकाले महिलाहरूलाई आत्मनिर्भर बनाउन मौरीपालन तालिमसहित मौरीघार वितरण गरेको छ। परम्परागत रूपमा घरको काममा मात्र सीमित महिलाहरूलाई सीप सिकाएर उद्यमशील बनाउने उद्देश्यले पालिकाले यो कार्यक्रम सञ्चालन गरेको हो।

गाउँपालिका–४, तङ्ग्राममा तीनदिने मौरीपालन तालिम सञ्चालन भएपछि महिलाहरू उत्साहित भएका छन्। गाउँपालिकाका अध्यक्ष राजु थापाका अनुसार गाउँका २० महिलालाई उद्यमशील बनाउने लक्ष्यका साथ मौरीपालनको तालिम दिइएको र मौरीघार उपलब्ध गराइएको छ। “देश समृद्ध बनाउन भौतिक पूर्वाधार मात्र नभई समावेशी विकास आवश्यक छ,” अध्यक्ष थापाले भने।

उनका अनुसार गाउँपालिकाले नागरिकलाई सीपयुक्त तालिम दिई दक्ष र आत्मनिर्भर बनाउन पहल गरिरहेको छ। “गाउँमा थुप्रै सम्भावना छन्, तर सीप र दक्षताको अभावमा नागरिकलाई उत्पादनसँग जोड्न नसक्दा पछाडि परेका छन्,” उनले थपे। थापाका अनुसार गाउँपालिकाले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने गरी विभिन्न योजना अघि बढाएको छ। “अहिले धेरैको रोजाइ सहरबजार भए पनि गाउँमै सीप विकास गरी उत्पादनमूलक काम गर्न सकिने प्रशस्त अवसर छन्,” उनले भने।

गत वर्ष, पालिकाले विभिन्न वडामा खाना पकाउने तालिम, मकैको भुत्लाबाट हस्तकलाका सामग्री बनाउने तथा चप्पल बनाउने तालिम प्रदान गरेको थियो। यस वर्ष महिला लक्षित कार्यक्रम अन्तर्गत वडा नं १ र ६ मा मादल र हार्मोनियम बजाउने तालिम सञ्चालन गरिएको स्थानीय महिला समन्वय समिति संयोजक सुन्तली विश्वकर्माले जानकारी दिइन्।

गाउँपालिकाले आगामी दिनमा पनि महिलाहरूलाई सीपमूलक तालिम दिँदै आत्मनिर्भर बनाउने योजना अघि बढाउने जनाएको छ।

साताकाे चर्चित
सम्बन्धित