धौलागिरि आधार शिविर यात्रामा जोखिम: पदमार्ग र पुलको अभाव
धौलागिरि आधार शिविर यात्रामा जोखिम: पदमार्ग र पुलको अभाव
    • बेल संचार

    • ४ फाल्गुन २०८१, आईतवार

म्याग्दी ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको धौलागिरि आधार शिविर पुग्न पर्यटक तथा स्थानीयले अझै जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ। कोखेभिर र धौलागिरि भ्यु प्वाइन्ट हिल पार गर्न डोरी र खरको गाँज समाएर यात्रा गर्नुपर्ने स्थिति रहेको हालै उक्त शिविर पुगेर फर्किएका पोखराका पर्यटन व्यवसायी तारा गर्बुजा पुनले बताएका छन्।

कोखेभिरमा ५० मिटर र धौलागिरि भ्यु प्वाइन्टमा करिब एक सय मिटर दूरीसम्म पदमार्गको अभावका कारण डोरी समाएर हिँड्नुपर्ने अवस्था रहेको छ। पदमार्ग नहुँदा पर्यटकहरू आधार शिविरसम्म पुग्न सकिरहेका छैनन्।

धौलागिरि आधार शिविर पुग्न हाल बेनी–चिमखोला–घ्याँसीखर्क हुँदै सुगुरथलासम्म सवारीसाधनमा चार घण्टाको यात्रा गर्न सकिन्छ। तर, पदमार्ग र झोलुङ्गे पुलको अभावले आधार शिविर सहज रूपमा पुग्न कठिनाइ भइरहेको छ। यदि आवश्यक पुल र बाटो निर्माण गर्न सकिएमा धौलागिरि आधार शिविर नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास हुने सम्भावना रहेको गर्बुजाले बताए।

भारतीय सेनामा कार्यरत चिमखोलाका ललित गर्बुजाको अगुवाइमा स्थानीय युवा क्लब, पर्यटन व्यवसायी र सञ्चारकर्मीहरूको टोलीले हालै आधार शिविर भ्रमण गरी पदमार्ग सुधार र पुल निर्माणको लागि वडाका जनप्रतिनिधिहरूलाई सुझाव दिएको छ।

रघुगङ्गा गाउँपालिका–७ का वडा अध्यक्ष थकप्रसाद पाइजाका अनुसार हाल पदमार्ग निर्माणका लागि प्रदेश र संघीय सरकारसँग थप बजेट माग गरिएको छ। गण्डकी प्रदेश सरकारले कालीबराह–धौलागिरि आइसफल पदमार्ग निर्माणका लागि रु २० लाख र नेपाल पर्यटन बोर्डले रु पाँच लाख बजेट बिनियोजन गरेको छ।

धौलागिरि आधार शिविर क्षेत्रमा निलीबराह ताल, कालीबराह ताल, सोवाङधुरीलगायत दर्जनौँ पर्यटकीय गन्तव्य छन्। यो क्षेत्र जैविक विविधताले भरिपूर्ण रहेको छ, जहाँ डाँफे, मुनाल, कस्तुरी, हिमचितुवा, नाउर, घोरल जस्ता जङ्गली जनावरहरू प्रत्यक्ष अवलोकन गर्न सकिन्छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले धौलागिरि आइसफल पदमार्गलाई नयाँ पर्यटकीय गन्तव्यको रूपमा छनोट गरेको छ। तर, पूर्वाधारको अभावका कारण यो पदमार्ग औपचारिक रूपमा सञ्चालनमा आउन सकेको छैन।

स्थानीय पर्यटन व्यवसायी तथा सरोकारवाला निकायहरूले पदमार्ग स्तरोन्नति गर्न, संकेत चिन्ह राख्न, झोलुङ्गे पुल निर्माण गर्न र आवश्यक पूर्वाधार विस्तार गर्न सरकारसँग माग गरेका छन्। यदि आवश्यक पूर्वाधार विकास गर्न सकिएमा धौलागिरि आधार शिविर यात्रा सुरक्षित, सहज र आकर्षक बन्नेछ।

साताकाे चर्चित
सम्बन्धित