काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कृषकलाई भुक्तानी गर्न बाँकी रहेको दूग्ध बिक्री रकम यथाशिघ्र भुक्तानी गर्न निजी डेरीलाई निर्देशन दिएका छन्।
प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले दूग्ध विकास संस्थानले हालसम्म २ अर्ब ४ करोड रुपैयाँ भुक्तानी गरिसकेको जानकारी दिए। उनले थपे, “दुग्ध विकास संस्थानलाई दूध बिक्री गर्ने सबै कृषकहरूको भाद्र मसान्तसम्मको बाँकी रकम भुक्तानी भइसकेको छ भने बाँकी रकम पनि क्रमशः भुक्तानी प्रक्रियामा अघि बढाइएको छ।”
प्रधानमन्त्री ओलीले जनतालाई महंगीको मारबाट मुक्त गर्न नियमित र चाडबाडका समयमा सघन बजार अनुगमन गर्ने जानकारी पनि दिए। उनले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ् लिमिटेड जस्ता सार्वजनिक संस्थानबाट चाडबाड लक्षित सुपथ मूल्य पसल सञ्चालन गर्ने कुरा पनि उल्लेख गरे।
“कानून विपरीतका क्रियाकलाप कोही कसैले गरेमा प्रचलित कानून बमोजिम कारबाही गर्न सरकार प्रतिवद्ध छ,” प्रधानमन्त्री ओलीले भने।