जुम्ला ।
जुम्ला जिल्लाको सिंजा गाउँपालिका वडा नम्बर ३ मा रहेको एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालयले वित्तीय साक्षरता अभावमा रहेका समुदायलाई लक्षित गरी वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ। यो कार्यक्रम सिंजा गाउँपालिका वडा नम्बर १, जाँचमा सम्पन्न भएको हो।
कार्यक्रममा ८० भन्दा बढी स्थानीयको उपस्थिति रहेको थियो। सिंजा शाखा कार्यालयले पुस १६ गतेदेखि यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। अभियानमा कर्जाको आवश्यकता, बचतका प्रकार, बचत तथा कर्जाका फाइदा र बेफाइदा, कर्जा लिँदा ध्यान दिनुपर्ने कुराहरू, कर्जाको सदुपयोग, बीमा सेवा, पासबुकको प्रयोग, एम-पासबुकको महत्त्व र फाइदा, नगद जम्मा भौचरको महत्त्व, केन्द्र प्रमुखको भूमिका तथा केन्द्र सञ्चालन लगायतका विषयमा सचेतनामूलक कार्यक्रम गरिएको थियो।
कार्यक्रमले ग्राहकहरूमा वित्तीय चेतना बढाएको सहभागीहरूले बताएका छन्। कार्यक्रमको व्यवस्थापन सेर बहादुर लम्पालले गर्नुभएको थियो भने सञ्चालन र स्वागत मन्तव्य सिंजा शाखाका प्रबन्धक जयकृष्ण जैशीले गर्नुभएको थियो।
कार्यक्रममा कर्णाली प्रदेशका अनुगमन अधिकृत बेदप्रसाद बेल्बासेले वित्तीय साक्षरताबारे प्रशिक्षण दिनुभएको थियो। सिंजा शाखा कार्यालयले सिंजा गाउँपालिकाका वडा नम्बर १ देखि ६ सम्मका वडा, हिमा, कनकासुन्दरी र तिला गुफा नगरपालिकाका करिब १२०० घरधुरीलाई सेवा प्रदान गर्दै आएको छ। गण्डकी प्रदेशको पोखरा महानगरपालिका वडा नम्बर ८, न्युरोड, कास्कीमा केन्द्रीय कार्यालय रहेको यस लघुवित्तका ७ वटा प्रदेशमा १४८ वटा शाखा कार्यालयहरू रहेका छन्।
वित्तीय संस्थाबारे सर्वसाधारणलाई ज्ञान नहुँदा पछिल्लो समयमा संस्थामा सहभागी हुन अनिच्छा देखाउने र सदस्यहरूले बचत गरेको रकममा अनियमितता हुने जस्ता समस्याहरू देखिएका छन्। यस साक्षरता कार्यक्रमबाट सदस्यहरूलाई एनएमबी संस्थाले वित्तीय ज्ञान प्रदान गरेको छ।