कैलाली जिल्लाको टीकापुर–८ अरुणाफाँटाका किसानहरूले कर्णाली नदीको बगरमा व्यापक रूपमा प्याजखेती गर्न थालेका छन्। यस वर्ष झन्डै ५० जना किसानले बगरमा प्याजखेती गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा उल्लेख्य वृद्धि हो।
स्थानीय किसानहरूका अनुसार बालुवामा प्याजको उत्पादन राम्रो हुने भएकाले उनीहरूले बगर खेतीलाई प्राथमिकता दिन थालेका हुन्। तीन वर्षदेखि निरन्तर बगरमा प्याजखेती गर्दै आएका स्थानीय सहिबहादुर चौधरीले यस वर्ष ८६ किलो प्याजको बीउ लगाएको बताए।
चौधरीका अनुसार, सुरुमा केही किसानहरूले मात्र प्याजखेती गरे पनि अहिले पूरै गाउँ नै यो खेतीमा लागिपरेको छ। उनले अघिल्लो वर्ष २० किलो प्याजको बेर्ना लगाएर तीन क्विन्टल प्याज उत्पादन गरेका थिए, भने पहिलो पटक १३ किलो बेर्नाबाट पाँच क्विन्टल प्याज उत्पादन भएको थियो।
रामदुलारी चौधरीले पनि गत वर्ष ६ किलो बेर्नाबाट डेढ क्विन्टल बढी प्याज उत्पादन गरेकी थिइन्। यस वर्ष उनले १६ किलो बेर्ना लगाएको बताउँदै, सफल उत्पादन हुने आशा व्यक्त गरिन्।
स्थानीय किसानका अनुसार, बालुवामा प्याजको दाना ठूलो लाग्ने गर्छ। रामदुलारीका अनुसार, “पाँच–छ दाना प्याज हालेपछि एक किलो पुग्छ। सिँचाइको राम्रो व्यवस्था भएमा उत्पादन राम्रो हुन्छ।” किसानहरूले गोबर मलसहित जिन्क, पोटास र यूरिया प्रयोग गर्ने गरेका छन्।
विगतमा भारतीय व्यापारीहरूले बगर क्षेत्रमा लौका र खर्बुजा खेती गर्दै आएका थिए। तर, स्थानीय किसानहरूले प्याजखेती गर्न थालेपछि जग्गा खाली नहुँदा भारतीय व्यापारीहरू आउन छाडेको स्थानीयहरूले बताएका छन्।
बगरमा पहिलो पटक १६ किलो प्याजको बेर्ना लगाएका वनगाउँका किसान हिक्मत ठकुल्लाले भने, “फाँटाका किसानले राम्रो उत्पादन गरिरहेका छन्। मैले पनि पहिलो पटक प्रयास गरेको छु।”
जानकी गाउँपालिकाका कृषि शाखा प्रमुख लालवीर चौधरीका अनुसार, प्याज खेतीका लागि खुकुलो माटो उपयुक्त मानिन्छ। “हामीले बगर खेतीका लागि सिफारिस गर्दैनौँ, तर प्याजका लागि खुकुलो माटो उपयुक्त हुन्छ,” चौधरीले भने।
बगरमा प्याजखेती सफल हुँदै गएपछि अन्य क्षेत्रका किसानहरू पनि यसको अवलोकन गर्न आउन थालेका छन्। स्थानीय समाजसेवी शेरबहादुर साउदका अनुसार, “दैनिकजसो अन्यत्रका किसान प्याजखेती हेर्न आउँछन्। यदि यसरी नै सफल हुँदै गयो भने, हिउँदमा कर्णालीको बगर खाली रहने छैन।”
प्याजखेतीको सफलता देखेर टीकापुर नगरपालिका वडा नम्बर ५, ६, र ७ का किसानहरू पनि बगरमा प्याजखेती गर्न इच्छुक देखिएका छन्। यदि यो खेती अझ व्यवस्थित रूपमा अगाडि बढाइयो भने, कर्णाली नदीको बगर प्रदेशकै प्रमुख कृषि क्षेत्र बन्ने सम्भावना देखिएको छ।