हेटौंडा ।
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा हाइब्रिड मकैको बीउ उत्पादन प्लट स्थापना गरिएको छ। बागमती प्रदेशको बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्र, हेटौंडा को समन्वयमा गाउँपालिका कार्यालय परिसरकै २२ कठ्ठा जग्गामा मकैको हाइब्रिड बीउ उत्पादन प्लट राखिएको हो।
यस योजनाले स्थानीय कृषकलाई प्रत्यक्ष लाभ पुर्याउने उद्देश्य राखेको छ। बीउ बिजन केन्द्रले रामपुर हाइब्रिड-१० (आरएमएल १५०/आरएमएल १८) को बीउ उत्पादन प्लटको प्रदर्शनी गर्दै कृषकलाई हाइब्रिड मकैबारे जानकारी दिएको छ। बीउ उत्पादनमा राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रम, रामपुर ले प्राविधिक सहयोग पुर्याएको छ।
बीउ बिजन केन्द्र हेटौंडाका प्रमुख राजन ढकालका अनुसार, स्वदेशमै हाइब्रिड मकैको बीउ उत्पादन गर्न सकेमा बाहिरबाट बीउ खरिद गर्न खर्च हुने ठुलो रकम जोगाउन सकिनेछ।
राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रम, रामपुरका प्रमुख तीर्थराज रिजालले गाउँमै हाइब्रिड मकै उत्पादनले कृषि क्षेत्रमा रोजगारीको अवसर सिर्जना गर्नुका साथै नेपाललाई आत्मनिर्भर बनाउने विश्वास व्यक्त गरे।
गाउँपालिका अध्यक्ष बज्रध्वज वाइवा ले यो कार्य देशकै नमूना परियोजनाको रूपमा सफल बन्ने बताउँदै, उत्पादन भएको मकैको बीउ स्थानीय कृषकलाई नै उपलब्ध गराउने योजना रहेको जानकारी दिए।
“पहिले हरिहरपुरमा धान बाहेक अरु बाली पाइँदैन भन्ने थियो, अब यहाँ उत्पादित मकैको बीउ माग्न आउने वातावरण बनाउनेछौं,” अध्यक्ष वाइवाले बताए।