सुर्खेत ।
कर्णाली उत्सव : कुडा कर्णालीको छैटौँ संस्करणको पहिलो दिन उच्च शिक्षा, अनुसन्धान र विकासका विषयमा केन्द्रित रह्यो। सोमबार सम्पन्न बहस कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतम, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावल र नेपाल खुला विश्वविद्यालयका उपकुलपति प्रा. डा. शिलु मानन्धर बज्राचार्यले उच्च शिक्षाको विकास र सुधारका उपायबारे छलफल गरे।
पत्रकार तुला अधिकारीले सहजकर्ताको भूमिकामा रहेका उक्त संवादको सुरुवात गर्दै सोधे, “हामीले के पढ्यौँ, के पढायौँ?” सोही प्रसंगमा तीनै जना उपकुलपतिहरूले आ–आफ्ना विश्वविद्यालयका योजनाहरू सार्वजनिक गरे।
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमले विश्वविद्यालयले सञ्चालन गरिरहेका कार्यक्रमहरूको चर्चा गरे। उनका अनुसार विश्वविद्यालयले पीएचडी कार्यक्रम, कृषि क्याम्पस, बाली विज्ञान, इन्जिनियरिङ, हाइड्रोपावर, सूचना प्रविधि (ICT) जस्ता विषयमा पढाइ सञ्चालन गरिरहेको छ। साथै, कानुनी क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न ल क्याम्पस सञ्चालन गरिएको छ भने नीति निर्माण तहमा सहयोग पुर्याउन नीति ल्याबको स्थापना गरिएको छ।
गौतमका अनुसार परम्परागत ज्ञान र सीपको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्न ‘कर्णाली ज्ञान केन्द्र’ स्थापना गरिएको छ। उनले भने, “विद्यार्थीहरूलाई रोजगारीसँग जोड्ने खालको शिक्षा दिन आवश्यक छ। अहिले पनि हाम्रा विद्यार्थीहरू उत्कृष्ट बन्दै गएका छन्। विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति हामी उत्पादन गरिरहेका छौँ। कर्णालीका विद्यार्थीलाई प्रशस्त अवसरहरू छन्।”
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले जुम्ला जस्तो ग्रामीण र विकट क्षेत्रमा मेडिकल शिक्षाको व्यवस्था हुनु नै गर्वको विषय भएको बताए। उनले प्रतिष्ठानलाई औपचारिक मेडिकल शिक्षामा मात्र सीमित नराखी स्वास्थ्य प्राविधिक क्षेत्रमा अनुसन्धान र ज्ञान हस्तान्तरण गर्न विभिन्न कार्यक्रम सञ्चालनको योजना सुनाए।
उनका अनुसार कर्णाली क्षेत्रलाई ‘हाई भ्याल्यु मेडिसिन प्लान्ट’ का रूपमा विकास गर्न सकिन्छ। उनले भने, “कर्णालीको जडीबुटीहरू कौडीको भाउमा विदेश निर्यात हुन्छन्, तर ती नै जडीबुटी महँगो औषधि बनेर नेपालमा पुनः भित्रिन्छ। अब हामीले कर्णालीमै अनुसन्धान गरेर औषधि उत्पादन गर्ने उद्योग स्थापना गर्नुपर्छ।”
रावलले यसका लागि ‘स्कूल अफ फार्मेसी’ तथा ‘हाई भ्याल्यु मेडिसिन रिसर्च सेन्टर’ स्थापना गर्ने योजना रहेको जानकारी दिए। साथै, उनले नेपालमा मेडिकल शिक्षा पढाइ हुने पर्याप्त कलेजहरू भए पनि सीमित कोटाका कारण विद्यार्थीहरू विदेश जान बाध्य भएको बताए।
“चिकित्सा शिक्षा अहिले ठूलो बहसको विषय बनेको छ। धेरै नेपाली विद्यार्थी विदेशमा लाखौँ रुपैयाँ खर्च गरेर अध्ययन गर्न बाध्य छन्। नेपालका मेडिकल कलेजहरूले पढाउन सक्छन्, तर विद्यार्थी भर्ना गर्ने कोटा सीमित छ। सरकारको ध्यानाकर्षण भएर नेपालमै मेडिकल अध्ययनका अवसर वृद्धि गरिनुपर्छ,” उनले थपे।
नेपाल खुला विश्वविद्यालयका उपकुलपति प्रा. डा. शिलु मानन्धर बज्राचार्यले व्यवहारिक शिक्षाको महत्त्वमा जोड दिइन्। उनका अनुसार विश्वविद्यालयहरूले विद्यार्थीलाई केवल सैद्धान्तिक ज्ञान मात्र होइन, व्यवहारिक ज्ञान र सीप पनि प्रदान गर्नुपर्छ, जसले गर्दा उनीहरू रोजगार बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनून्।
“विद्यार्थी शिक्षाबाट दीक्षित भइसकेपछि सिपयुक्त, ज्ञानयुक्त हुनुपर्छ, तबमात्र रोजगारीको सम्भावना रहन्छ। सकारात्मक सोच राखेर शिक्षाका कार्यक्रमहरू विकासमा ध्यान दिन आवश्यक छ,” उनले भनिन्।
बज्राचार्यका अनुसार कर्णालीका विद्यार्थीहरूका लागि उच्च शिक्षामा पर्याप्त अवसरहरू उपलब्ध छन्, तर उनीहरूलाई व्यावहारिक शिक्षाको महत्त्वबारे अझ बढी सचेत गराउनु आवश्यक छ।
नेपालका विश्वविद्यालयहरू बेरोजगार उत्पादन गर्ने कारखानाका रूपमा आलोचित छन् भन्ने सहजकर्ताको प्रश्नमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति गौतमले स्पष्ट जवाफ दिए।
“विश्वविद्यालयले विद्यार्थीलाई पढाउने हो, सीप र ज्ञान दिने हो। जागिरको ग्यारेन्टी विश्वविद्यालयले गर्न सक्दैन। जागिर बजारले दिने हो, र विद्यार्थी प्रतिस्पर्धी बन्नुपर्छ। राज्यले रोजगारीका अवसर सिर्जना गर्न पहल गर्नुपर्छ,” उनले भने।
उक्त बहसमा सहभागी तीनै जना उपकुलपतिहरूले विश्वविद्यालयहरूको शिक्षालाई थप रोजगारमूलक बनाउने, अनुसन्धान तथा सीप हस्तान्तरणलाई प्राथमिकता दिने, मेडिकल शिक्षामा अवसर वृद्धि गर्ने तथा कर्णाली क्षेत्रमा औद्योगिक र वैज्ञानिक विकासलाई तीव्र पार्ने विषयमा जोड दिए।