धवलागिरि गाउँपालिका–४, खाम्लामा ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको बाँध निर्माण औपचारिक रूपमा सुरु गरिएको छ। म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको यस आयोजनाले म्याग्दी नदीको पानी सुरुङमार्फत निकाल्न १५ मिटर अग्लो र ४० मिटर लामो बाँध निर्माण कार्य अघि बढाएको छ।
बुधबार गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले बाँध निर्माणको ढलान कार्यको शुभारम्भ गरे। उक्त कार्यक्रममा पूर्वअध्यक्ष थमसरा पुन, धवलागिरि–४ का वडाध्यक्ष यामप्रसाद घर्तिमगर, जनप्रतिनिधिहरू र स्थानीय अगुवाहरूको उपस्थिति रहेको थियो।
आयोजना प्रमुख ज्योतिकुमार केसीका अनुसार, बाँध निर्माणस्थलको जग्गा व्यवस्थापन कार्य सम्पन्न भइसकेको छ। म्याग्दी नदीको दायाँ किनारमा ढलान गरी पक्की संरचना निर्माणको काम सुरु गरिएको छ। साथै, बाँध नजिकै तीनवटा १०० मिटर लामो र १५ मिटर अग्ला पानी थिग्राउने पोखरी निर्माणका लागि जग्गा व्यवस्थापनको कार्य भइरहेको छ।
सिभिल ठेकेदार लुना बिल्डर्स एण्ड कन्ट्याक्टरले विसं २०८० चैत १९ गते सम्झौता गरी २०८१ वैशाख २८ गते कार्यक्षेत्रमा परिचालित भएपछि पहाड काटेर बाँध निर्माणस्थल तयार गरिसकेको छ। आयोजनाले विसं २०८३ फागुन २१ गतेभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित बाँध, सुरुङ र विद्युतगृह निर्माणको कामलाई तीव्रता दिएको छ।
आयोजनाका प्रबन्ध निर्देशक लक्ष्मण न्यौपानेका अनुसार, विसं २०८१ भदौ १२ गतेदेखि धवलागिरि–४ छहरीमा १९८.९० मिटर लामो अडिट नम्बर २ को सुरुङ खनेर हालसम्म ५३० मिटर मुख्य सुरुङ निर्माण सम्पन्न भइसकेको छ। पाँच किलोमिटर ७०० मिटर लामो सुरुङमध्ये केही दिनमै बाँध र मालिका गाउँपालिका–७ भारवाङतर्फको आउटलेटबाट पनि सुरुङ खन्न थालिने तयारी भइरहेको छ।
‘रन अफ द रिभर’ प्रविधिमा आधारित यो आयोजनाको आउटलेटदेखि विद्युतगृहको उचाइ १९६ मिटर रहेको छ। आउटलेटबाट विद्युतगृहमा पानी झार्न ६९२ मिटर पेनस्टक पाइप जडान गरिनेछ।
सानीमा बैंकको नेतृत्वमा ६ वटा बैंकको ऋण, प्रवर्द्धक कम्पनीको लगानी, र सर्वसाधारणको शेयरबाट ११ अर्ब २३ करोड २७ लाख ६ हजार रुपैयाँको लागतमा आयोजना निर्माण भइरहेको छ। उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणको १३२ केभी क्षमताको प्रशारण लाइनमार्फत मालिका–७ डाँडाखेतमा निर्माणाधीन सवस्टेशनमा जोडिने छ। आयोजनाले वार्षिक औसत ३१५.०१ गिगावाट घण्टा विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ।
यसैबीच, आयोजनाले भारवाङदेखि बाँध निर्माण स्थलसम्म ९ किलोमिटर लामो पहुँचमार्ग निर्माण पूरा गरेको छ। सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत ६ करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरी प्रभावित क्षेत्रमा सडक निर्माण, शिक्षा, स्वास्थ्य, मठमन्दिरका लागि १ करोड ९ लाख १५ हजार रुपैयाँ सहयोग गरिसकेको छ।
ऊर्जा इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सोलुसन प्रालि परामर्शदाता रहेको यस आयोजनाका लागि मेकानिकल र इलेक्ट्रो मेकानिकल ठेकेदार छनोटको प्रक्रिया चलिरहेको छ। अपर म्याग्दी–१ जलविद्युत् परियोजना ऊर्जा डेभलपर्स प्रालि को प्रवर्द्धनमा अगाडि बढिरहेको छ।