चित्रकला र संगीतले विद्यार्थीको सिर्जनात्मकता उजागर गर्छ: मेयर बालेन साह
चित्रकला र संगीतले विद्यार्थीको सिर्जनात्मकता उजागर गर्छ: मेयर बालेन साह
    • बेल संचार

    • ७ फाल्गुन २०८१, बुधबार

काठमाडौँ ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले चित्रकला र संगीतले विद्यार्थीको सिर्जनात्मकतालाई उजागर गर्ने बताएका छन्। बुधबार काठमाडौं महानगरपालिका–७ द्वारा आयोजित ‘पिएल सिंह चित्रकला प्रतियोगिता’ कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

मेयर साहका अनुसार, विद्यार्थीहरूले धेरै समय विद्यालयमा बिताउने भएकाले अध्ययनबाहेकका सिर्जनात्मक गतिविधिमा समेत उनीहरूको सहभागिता बढाउन आवश्यक छ। उनले चित्रकलाले विद्यार्थीको लिडरसिप क्षमताको विकासमा समेत सहयोग गर्ने उल्लेख गरे।

कार्यक्रममा प्रमुख साहले काठमाडौं महानगरपालिकाका प्रथम मेयर प्रेमलाल सिंहबारे विद्यार्थीहरूलाई सिकाउनु आवश्यक रहेको बताए। उनले सिंहलाई काठमाडौं महानगरको विकासको ढोका खोल्ने व्यक्तित्वको रूपमा उल्लेख गरे।

‘काठमाडौं महानगरपालिकाका प्रथम मेयर प्रेमलाल (पिएल) सिंहज्यू एकदमै भिजिनरी हुनुहुन्थ्यो,’ उनले भने, ‘उहाँको नाममा आयोजित यो कार्यक्रममा आउन पाउँदा झनै खुसी लागेको छ। स्कुलका नानीबाबुहरूलाई उहाँको योगदानबारे सिकाउन पाए भोलिका दिनमा उनीहरूका लागि प्रेरणा बन्न सक्छ। लिडरसिपको प्रेरणा पनि आवश्यक छ।’

मेयर साहका अनुसार, काठमाडौं महानगरपालिकाले विद्यार्थीलाई सिर्जनात्मक क्रियाकलापमा संलग्न गराउन विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। उनले आगामी दिनमा पनि महानगरले यस्ता गतिविधिहरूलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

साताकाे चर्चित
सम्बन्धित