बरेङ गाउँपालिकामा बसाइँसराइको दर बढ्दो, बस्तीहरू सुनसान
बरेङ गाउँपालिकामा बसाइँसराइको दर बढ्दो, बस्तीहरू सुनसान
    • बेल संचार

    • ११ फाल्गुन २०८१, आईतवार

बागलुङ ।

पछिल्लो समय बागलुङको बरेङ गाउँपालिकाबाट बसाइँसराइ गर्नेको सङ्ख्या तीव्र रूपमा बढ्दै गएको छ। गाउँ छोड्नेक्रम बढ्दै जाँदा यहाँका बस्तीहरू क्रमशः सुनसान बन्न थालेका छन् भने खेतीयोग्य जमिनमा झाडी पलाउन थालेका छन्।

दुई वर्षमा ३४७ परिवारले गाउँ छोडे
बरेङ गाउँपालिकाका सूचना अधिकारी केशवराज क्षेत्रीका अनुसार पछिल्लो दुई वर्षमा ३४७ परिवारका १,२८० जनाले गाउँ छोडेका छन्। गाउँमा शिक्षा, स्वास्थ्य, यातायातलगायतका पूर्वाधार विस्तार भए पनि बसाइँसराइ रोक्न सकिएको छैन। चालु आर्थिक वर्षका सात महिनामा मात्रै २१० जनाले गाउँ छाडिसकेको अधिकारी क्षेत्रीले जानकारी दिए।

साउन महिनादेखि मात्रै ५५ परिवारले बसाइँसराइ गरेको छ। यस वर्ष सबैभन्दा धेरै वडा नं. १ धुल्लुबास्कोटबाट १३ घरपरिवारका ५८ जना र सबैभन्दा कम वडा नं. ५ सुखौराबाट ६ घरपरिवारका २० जना गाउँ छोडेर गएका छन्। यद्यपि, दुई वर्षको अवधिमा ४० परिवारका १३१ जना नयाँ बसाइँ सरेर बरेङ आएका छन्।

बसाइँसराइ रोक्न प्रयास जारी
बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माका अनुसार स्थानीय सरकार जनताका आधारभूत आवश्यकता पूरा गर्न सक्रिय छ। पालिकाका सबै वडामा सडक, खानेपानी, विद्युत्, र स्वास्थ्य सेवाको सुविधा पुर्‍याइएको भए पनि बसाइँसराइ रोक्न नसकिएको उनले बताए।

“बसाइँसराइ रोक्न हामीले बस्ती–बस्तीसम्म पूर्वाधार पुर्‍याएका छौँ। युवालाई रोजगारीसँग जोड्ने काम भएको छ। तर, एकीकृत बस्ती बसाल्ने प्रयास प्रभावकारी हुन सकेन।”

उनका अनुसार बगाले भन्ने बस्तीमा पहिले २० घर थिए, तर अहिले त्यो टोल नै खाली भइसकेको छ।

बसाइँसराइको प्रमुख गन्तव्य चितवन, रुपन्देही, पोखरा
बरेङबाट बसाइँसराइ गर्ने अधिकांश परिवार चितवन, रुपन्देही, नवलपरासी, पोखरा लगायतका शहरी क्षेत्रहरूमा सर्ने गरेका छन्। गाउँपालिकाले युवालाई लघुउद्यम, घरेलु उद्योग जस्ता कार्यक्रममार्फत स्वरोजगार बनाउन खोजे पनि बसाइँसराइ रोक्न नसकिएको अध्यक्ष शर्माले बताए।

स्थानीय सरकारले रोजगारीका अवसरहरू सिर्जना गर्न र बसाइँसराइ न्यूनीकरण गर्न थप प्रभावकारी योजनाहरू आवश्यक रहेको सरोकारवालाहरू बताउँछन्। यदि प्रवासिने क्रम रोक्न सकिएन भने भविष्यमा बरेङका बस्तीहरू पूरै रित्तिने जोखिम छ।

 

साताकाे चर्चित
सम्बन्धित