काठमाडौँको विवाह समारोहमा मोहीको प्रयोग: कृषि उत्पादनको प्रवर्द्धन
काठमाडौँको विवाह समारोहमा मोहीको प्रयोग: कृषि उत्पादनको प्रवर्द्धन
    • बेल संचार

    • ११ फाल्गुन २०८१, आईतवार

काठमाडौँ ।

काठमाडौँमा हालै भएको एउटा विवाह कार्यक्रममा बेहुला–बेहुलीप्रति सबैको आकर्षण हुनु स्वाभाविक हो, तर त्यहाँ भने एक विशेष पेय पदार्थ—मोही—ले आगन्तुकहरूको ध्यान आकर्षित गर्यो। फागुन ६ गते थापागाउँमा भएको एक विवाह समारोहमा बेहुला माधव भण्डारी र बेहुली अस्मि सापकोटा विवाहको अवसरमा व्यस्त रहेका बेला, उनीहरूलाई शुभकामना दिन आउने भीड मोही पिउन आकर्षित भएको थियो।

अन्तर्राष्ट्रिय सेफ घनश्याम कँडेलले भने मोहीको प्रयोगलाई निकै सकारात्मक र राम्रो कदमको रूपमा मूल्याङ्कन गरे। काठमाडौँकी शिक्षा भट्टराईले पनि विवाहमा अन्य पेय पदार्थको साटो मोही पिउन पाउँदा फरकपन महसुस भएको बताइन्। शिक्षक उदय चापागाईंले भने आफ्ना छोराछोरीको बिहेमा मोही मात्र राख्ने चाहना व्यक्त गरे।

समारोहमा सहभागी सञ्चारकर्मी डा.राजेन्द्रराज तिमिल्सनाले मोहीको ऐतिहासिक महत्वबारे चर्चा गरे, र पौराणिक प्रसङ्गमा देवराज इन्द्रको मोहीको शौकको कुरा पनि उल्लेख गरे। बेहुलीका पिता देवीप्रसाद सापकोटाले भने बिहेमा मोही समावेश गर्नु एउटा नयाँपन ल्याउनको लागि गरेको निर्णय थियो।

कृषि मन्त्री रामनाथ अधिकारी, बेहुला माधव भण्डारी र बेहुली अस्मि सापकोटाले मोही पिउँदै कृषि उत्पादनको प्रवर्द्धन गरेका थिए। मन्त्री अधिकारीले यस किसिमका कार्यक्रमहरूले किसानलाई उत्साहित गर्न महत्त्वपूर्ण भूमिका निभाउने बताए।

चितवनमा प्रचलित विभिन्न कोल्ड ड्रिङ्क्सको सट्टा मोहीले लगभग ३५% बजार हिस्सा लिइसकेको छ। पवन डेरीका सञ्चालक पवनप्रसाद बाँस्तोलाले पनि गुणस्तरीय मोही आपूर्ति गर्न सकिने कुरा उल्लेख गरे। नेपाल सरकारले पनि हालै स्वदेशी उत्पादन र कृषि उपजको प्रयोग बढाउनका लागि नयाँ नीति र कार्यक्रम ल्याउन थालेको छ।

साताकाे चर्चित
सम्बन्धित