काठमाडौं
अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपअन्तर्गत नेपाल र म्यानमारबीचको लिग चरणको अन्तिम खेल २-२ गोलको बराबरीमा सकिएको छ। आइतबार दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले उत्कृष्ट प्रदर्शन गरे।
खेलको ६औं मिनेटमा म्यानमारकी म्यात नो खिनले फ्रिकिकमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाइन्। नेपालकी गोलकिपर अन्जना रानामगरले बल रोक्न सकिनन्। तर, ११औं मिनेटमा नेपालका लागि सविता रानामगरले बराबरी गोल फर्काइन्। सावित्रा भण्डारी साम्बाको उत्कृष्ट ड्रिबलिङपछि उनले दिएको पासमा सविताले शानदार फिनिसिङ गरिन्।
१६औं मिनेटमा म्यानमारकी मे लुले डिबक्स भित्रबाट गोल गर्दै पुनः अग्रता दिलाइन्। त्यसपछि नेपालले आक्रामक खेल प्रस्तुत गर्यो र ४१औं मिनेटमा सरु लिम्बूको पासमा प्रीति राईले साम्बालाई बल उपलब्ध गराइन्, जसमा साम्बाले उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याइन्।
बाँकी समय गोलरहित रहँदा खेल २-२ को बराबरीमा टुंगियो। नेपाल र म्यानमारबीचको फाइनल खेल बुधबार हुनेछ।