झापा
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारमा सरकारको समेत सेयर रहेको आरोप लगाएका छन्।
सोमबार, झापाको बाह्रदशी गाउँपालिकामा आयोजित ‘जनभेटघाट तथा खबरदारी सभा’लाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मुकुम्लुङ क्षेत्रमा देखिएको विवाद सरकारकै कारण उत्पन्न भएको दाबी गरे। उनले केबलकार निर्माण कार्य तत्काल रोक्न र आवश्यक छलफल गरी समस्या समाधान गर्न सरकारलाई आग्रह गरे।
प्रचण्डले जनताले प्राप्त गरेका अधिकार प्रयोग गर्न नपाएको भन्दै विभिन्न शक्तिहरूले ती अधिकार खोस्ने प्रयास गरिरहेको आरोप पनि लगाए।
उनले माओवादी तराई-मधेश जागरण अभियान जनतासँगको अन्तरसंवादको अभियान भएको बताउँदै भने, “यो अभियान जनताको समस्या सुन्न, प्राकृतिक स्रोतसाधनको सम्भाव्यता खोजी गर्न, तत्काल आवश्यक काममा राज्यको ध्यानाकर्षण गराउन तथा दीर्घकालीन योजना निर्माण गर्न केन्द्रित छ।”