पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी २०८५ सालसम्म सबै नागरिकलाई साक्षर बनाउने कानुनी प्रावधान कार्यान्वयनमा ध्यान दिन स्थानीय तहलाई आग्रह गरेका छन्।
सप्तरीको खडक नगरपालिकाले सुरु गरेको साक्षर नगरपालिका निर्माण अभियान उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले साक्षर नगर निर्माण अभियानले संविधानले सुनिश्चित गरेको निशुल्क र अनिवार्य शिक्षाको मौलिक हक स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
उनले अनिवार्य शिक्षासम्बन्धी ऐनले २०८५ सालसम्म सबै नागरिकलाई साक्षर बनाइसक्ने र साक्षर नभएका व्यक्तिले सरकारी सेवा सुविधा प्राप्त गर्न नसक्ने व्यवस्था गरेको स्मरण गराउँदै अभियानमा स्थानीय तहको अग्रसरता आवश्यक रहेको बताए।
कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, “जनताको ठूलो बलिदानपछि प्राप्त भएको संविधानले शिक्षा, स्वास्थ्य र रोजगारीलाई मौलिक हकको रूपमा स्थापित गरेको छ। अब स्थानीय तहले समाजवादउन्मुख अभ्यास गर्दै शिक्षा क्षेत्रमा सुधार ल्याउन साक्षर अभियानलाई प्राथमिकतामा राख्नुपर्छ।”
कार्यक्रममा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संघीयता कार्यान्वयनपछि शिक्षा र स्वास्थ्य क्षेत्र सुधारमा स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण रहेको बताए।
‘समाजवादउन्मुख आधार निर्माण अभियान’ भन्ने नारासहित थालिएको यो अभियानमा स्थानीय युवा स्वयंसेवक परिचालन गरी केही महिनाभित्र नगरपालिकालाई पूर्ण साक्षर बनाउने लक्ष्य राखिएको नगर प्रमुख जयप्रकाश चौधरीले जानकारी दिए।