इलाम सीमा क्षेत्रका बालबालिका भारतीय विद्यालय पढ्न बाध्य
इलाम सीमा क्षेत्रका बालबालिका भारतीय विद्यालय पढ्न बाध्य
    • बेल संचार

    • १८ फाल्गुन २०८१, आईतवार

इलाम ।

इलामका सीमा क्षेत्रका बालबालिका विद्यालय अभावका कारण भारतीय विद्यालयमा पढ्न बाध्य भएका छन्। नेपालतर्फ विद्यालय नजिक नभएका कारण सीमा क्षेत्रका अधिकांश बालबालिकाले भारतीय विद्यालयमा महँगो शुल्क तिरेर अध्ययन गर्नुपरेको स्थानीयहरूले गुनासो गरेका छन्।

इलामको सन्दकपुर गाउँपालिका–५ की नौ वर्षीया पेमा तामाङ भारतको विद्यालयमा पढ्न बाध्य भएकी छिन्। घर नजिक विद्यालय नहुँदा छात्रावासमा बसेर अध्ययन गर्नुपर्ने बाध्यता रहेको उनले बताइन्।

नेपालतर्फ विद्यालय विद्यार्थी अभावका कारण बन्द भएपछि सीमा क्षेत्रका बालबालिकालाई भारतीय विद्यालयमा पढाउनुपरेको स्थानीय दावा लामाले जानकारी दिए। कतिपय अभिभावकले बालबालिकालाई छात्रावासमा राखेर त कतिपयले भारतमै कोठा भाडामा लिएर पढाउने गरेका छन्।

सीमा क्षेत्रका गाउँहरूमा बालबालिकाको कमी र विद्यालय बन्द हुँदा समस्या झन् जटिल बनेको छ। जौबारी, मेघमा, कालपोखरीलगायत गाउँका विद्यालयहरू बन्द भएपछि अधिकांश बालबालिकाले भारतीय विद्यालयमा पढ्नुपर्ने बाध्यता रहेको स्थानीय सोनाम शेर्पाले बताए।

सन्दकपुर गाउँपालिका–५ जौबारीमा रहेको राष्ट्रिय प्राथमिक विद्यालय विद्यार्थी अभावका कारण २०७२ सालमा बन्द भएको स्थानीय डोमा शेर्पाले जानकारी दिइन्। त्यहाँका १४ बालबालिका अहिले भारतीय विद्यालयमा पढ्न जाने गरेका छन्।

माईजोगमाई गाउँपालिका–२ मेग्मामा रहेको सरस्वती प्राथमिक विद्यालय, सन्दकपुर–५ कालपोखरी र मजुवामा रहेका विद्यालयहरू विद्यार्थी अभावका कारण बन्द भएका छन्। माईजोगमाई–२ ज्योति विद्यालय पुग्न चार घण्टा लाग्ने हुँदा अभिभावकले बालबालिकालाई त्यहाँ पठाउन सकिरहेका छैनन्।

“एउटा बालबालिकालाई पढाउन पनि धेरै खर्च हुन्छ। छात्रावासमा राख्नुपर्छ, नभए कोठा भाडामा लिएर बस्नुपर्छ,” स्थानीय फुर्वा शेर्पाले भने।

सीमा क्षेत्रका करिब ३५ बालबालिका नेपालका विद्यालयमा पढ्नबाट वञ्चित भएको माईजोगमाई गाउँपालिका–२ का वडाध्यक्ष डम्बर सुवेदीले जानकारी दिए। लामो दूरीका कारण कतिपय बालबालिका भारतीय विद्यालयमा जाने गरेका छन् भने कतिपयले घरबाटै बसमा विद्यालय जाने गरेका छन्।

स्थानीयहरूले नेपालतर्फ विद्यालय सञ्चालनमा ल्याउन र बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन सम्बन्धित निकायलाई पहल गर्न आग्रह गरेका छन्।

4o

साताकाे चर्चित
सम्बन्धित