पशुपालनबाट सफल किसान बने नन्दलाल सापकोटा
पशुपालनबाट सफल किसान बने नन्दलाल सापकोटा
    • बेल संचार

    • १८ फाल्गुन २०८१, आईतवार

बागलुङ ।

बागलुङ नगरपालिका–५ मालिकाबाट विसं २०६७ मा तीनवटा भैँसी लिएर बागलुङ बजारको उपल्लाचौरस्थित आमबोट झरेका नन्दलाल सापकोटा अहिले सफल पशुपालक किसान बनेका छन्। हाल उनीसँग ३५ भैँसी र सात गाई छन्।

सापकोटाले बागलुङ–४ उपल्लाचौर आमबोटमा १५ रोपनी क्षेत्रफलमा ‘सापकोटा गाईभैँसी फार्म’ स्थापना गरेका छन्। केही आफ्नो र केही भाडाको जमिनमा व्यावसायिक पशुपालन सुरु गरेका सापकोटा १४ वर्षको मेहनतपछि सफल किसानको रूपमा परिचित छन्।

सापकोटाको फार्ममा दैनिक १६० लिटर दूध उत्पादन हुँदै आएको छ। उनले उत्पादन गरेको दूध आफैँ बजारीकरण गर्दै आएका छन्। मासिक पाँचदेखि छ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका सापकोटा मासिक एक लाख रुपैयाँसम्म बचत गर्ने गरेका छन्।

सापकोटाले भने, भारतको मेघालय क्षेत्रमा रोजगारीका लागि जाँदा त्यहाँका नेपालीले गाई पालेर दूध बिक्री गरेको देखेपछि पशुपालन गर्ने इच्छा जाग्यो। विसं २०६७ मा तीनवटा भैँसी र एउटा गाई लिएर आमबोट आएँ, अहिले रु एक करोडभन्दा बढी लगानी भएको छ।”

सापकोटाको फार्ममा पाँच जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। पशुपालन व्यवसायमा लामो अनुभव र प्राविधिक सहयोगले मात्र सफलता मिल्ने सापकोटाको भनाइ छ। उनले गाई तथा भैँसीको खरिद बिक्रीसमेत गर्दै आएका छन्।

सापकोटाले विसं २०७३ मा प्याक्ट परियोजनामार्फत रु १० लाख अनुदानमा आधुनिक गोठ निर्माण गरेका थिए। उनले भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र र बागलुङ नगरपालिकाबाट प्राविधिक सहयोग प्राप्त गर्दै आएका छन्।

सापकोटाले भने, “उत्पादन र निरन्तरताका आधारमा अनुदान दिए मात्र वास्तविक किसानले लाभ लिन सक्छन्। पछिल्लो समय राज्यका प्रोत्साहन कार्यक्रमले किसानहरू हौसिए पनि टिक्न नसकेको पाइन्छ।”

बागलुङ बजारसहित पर्वत र म्याग्दी जिल्लाबाट समेत दूधको माग आउने गरेको छ। बजारमा दूधको मूल्य प्रतिलिटर रु १२० रहेको छ। सापकोटाले घरदैलोमै दूध पुर्याएर बिक्री गर्दै आएका छन्।

सापकोटाले पशुपालनमा जोखिम भए पनि प्राविधिक सहयोग र निरन्तर मेहनतले मात्र सफल बन्न सकिने बताए।

साताकाे चर्चित
सम्बन्धित