म्याग्दीको मालिका गाउँपालिका–७ प्रभुचेला धुरीमा सामुदायिक ध्यान केन्द्र स्थापना भएको छ। परापूर्वकालमा ऋषिमुनिहरूले तपस्या गरेको धार्मिक स्थललाई तनाव व्यवस्थापन, मानसिक तथा शारीरिक स्वास्थ्यका लागि ध्यान केन्द्रका रूपमा विकास गरिएको हो।
प्रभुचेला धुरी प्रवर्द्धन समाजका अध्यक्ष टीकाबहादुर जुग्जाली (नवीन) का अनुसार गण्डकी प्रदेश सरकार र प्रवासमा रहेका बिमवासीको सहयोगमा ध्यानस्थलको पूर्वाधार निर्माण गरिएको हो। उनले भने, “तीन वर्षअघिको अध्ययनले यहाँ ऋषिमुनिहरूले तपस्या गरेको पुष्टि भएपछि संरक्षण र पूर्वाधार निर्माण थालिएको हो।”
गण्डकी प्रदेश सरकारको रु ५० लाख बजेटमा ध्यान केन्द्र वरपर घेराबार, सार्वजनिक शौचालय, हवन कुण्ड र पक्की पर्खाल निर्माण गरिएको छ। त्यस्तै, रु २८ लाखको लागतमा गोलाकार ध्यान भवन निर्माण गरिएको छ। भवन निर्माणमा स्थानीय काठ, ढुङ्गा र माटो प्रयोग गरेर मौलिक शैली अपनाइएको अध्यक्ष जुग्जालीले बताए।
गण्डकी प्रदेश सरकारको रु १५ लाख अनुदानमा ५० जनाको क्षमताको आश्रयस्थल भवन र ८७ मिटर पक्की पदमार्ग निर्माण गरिएको छ। साथै, कुटी, हवन कुण्ड र साधनास्थलको संरक्षण गरिएको छ।
प्रभुचेला ध्यान केन्द्र व्यवस्थापन समितिका सचिव सुरमन गर्बुजा ले भने, “धार्मिक महत्त्व नबुझेर यहाँ केही वर्षअघि स्थानीयले गोठ बनाएका थिए। अब नियमित ध्यान केन्द्र सञ्चालन गर्ने तयारी भइरहेको छ।”
प्रभुचेला धुरीमा एक सय वर्षअघि ऋषिमुनिहरू तपस्याका लागि आउने गरेका थिए। स्वर्गद्वारी महाप्रभुका उत्तराधिकारी कपिलानन्द स्वामी ले विसं १९७० देखि १९७५ सम्म यहीँ तपस्या गरेका थिए। अहिले पनि उनको कुटी, साधनास्थल र हवन कुण्डको भग्नावशेष छन्।
प्रभुचेलाबाट धवलागिरि र गुर्जा हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ। समुद्र सतहबाट २,४०० मिटर उचाइमा रहेको यो ठाउँ बिमबाट सवारीसाधनमा ३० मिनेट र पैदल यात्रा गर्दा दुई घण्टामा पुगिन्छ।
स्थानीय बासिन्दा पलवीर जुग्जालीले कपिलानन्द स्वामीको कुटी पुनर्निर्माण गरेका छन्। छकप्रसाद पाइजाले शिव मन्दिर तथा देउप्रसाद जुग्जालीले गणेश मन्दिर निर्माण गरेका छन्। स्वर्गीय मनबहादुर थजाली पुन र रतिमा पुनको स्मृतिमा रुपलाल पुनको संयोजकत्वमा खानेपानी पाइप, धारा र ट्याङ्की निर्माण गरिएको छ।
गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली का अनुसार प्रभुचेलालाई ध्यान केन्द्रका रूपमा विकास गर्न प्रदेश सरकारले बजेट विनियोजन गरिरहेको छ।
शान्त वातावरण, मौलिक स्थापत्य र प्राकृतिक सुन्दरताका कारण प्रभुचेला धुरीमा ध्यान, साधना र धार्मिक यात्राका लागि आउनेको संख्या बढ्दै गएको छ। आश्रयस्थल बनेपछि तपस्वी, भक्तजन र पर्यटकलाई हिउँद, वर्षा तथा गर्मी मौसममा समेत बस्न सहज भएको छ।