रूकुम पूर्वमा हिउँले पर्यटक लोभ्याउँदै
रूकुम पूर्वमा हिउँले पर्यटक लोभ्याउँदै
    • बेल संचार

    • १९ फाल्गुन २०८१, सोमबार

रूकुम।

हिउँ कसैका लागि रहर त कसैका लागि कहर बनेको छ। हिउँ हेर्न र खेल्न जानेहरूका लागि यो रोमाञ्चक अनुभव हो भने, हिउँसँगै गुजारा चलाउनेहरूका लागि भने गाह्रो परिस्थिति हो।

लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रूकुम पूर्वमा वर्षमा एक/दुईपटक अनिवार्य हिउँ पर्ने गर्छ। हालैको शुक्रबार र शनिबार जिल्लाका उच्च पहाडी क्षेत्रमा हिमपात भएको थियो। जिल्लाको सिस्ने, भूमे र पुथा उत्तरगङ्गा गाउँपालिकाका माथिल्लो क्षेत्रहरू हिउँले सेताम्य बनेका छन्।

कालोपत्थरमा परिणत भइसकेको सिस्ने हिमाल सेताम्य देखिएको छ भने पुथा हिमाल र धौलागिरि रेञ्ज पूरै हिउँले ढाकिएको छ। मध्यपहाडी लोकमार्गको लुकुम–पातिहाल्ना खण्डमा पाँचदेखि सात किलोमिटर दूरीको मोटर यात्रामा हिउँसँग साक्षात्कार गर्न सकिन्छ।

हिउँ परेपछि यहाँका रमणीय स्थलहरूमा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गर्छ। पातिहाल्नामा दैनिक रूपमा रूकुम पूर्व, रूकुम पश्चिम, रोल्पा, बागलुङ, दाङ, सल्यानलगायतका ठाउँबाट हिउँ खेल्न आउने पर्यटकको जमघट हुन्छ। होटल व्यवसायी किस्मत घर्तीका अनुसार केही पर्यटक पोखरा र बुटवलबाटसमेत हिउँ खेल्न पुग्ने गरेका छन्।

‘टाढाबाट आएका मानिसहरू बास बस्न खोज्छन्,’ घर्तीले भने, ‘तर यहाँ दुईवटा कटेज मात्र छन्, जसले गर्दा सबै पाहुनालाई बास बसाल्न सकिँदैन।’ हिउँ परेका बेला पर्यटकको आगमनले यो क्षेत्र रौनकपूर्ण बन्ने गरेको उनले बताए।

चौंरी लेक र किलाचन लेक जस्ता स्थानहरूमा पुगेर पर्यटकले सिस्ने हिमाल, पुथा हिमाल, धौलागिरि रेञ्ज र ढोरपाटनको सुन्दर दृश्यावलोकन गर्ने गरेका छन्। हिउँदमा हिउँको घुम्टो ओढ्ने र बर्खामा रङ्गीविरङ्गी फूलले ढाकिने यो क्षेत्र वर्षभर नै पर्यटकलाई लोभ्याउने गर्छ।

भूमे गाउँपालिका–१ का दिलचन पुनका अनुसार पातिहाल्नामा हिउँ नपग्लिँदासम्म पर्यटकहरूको घुइँचो लागिरहने गर्छ। यहाँ आउने पर्यटक फोटो खिच्ने, भिडियो बनाउने र टिकटक बनाउन व्यस्त देखिन्छन्।

रूकुम पूर्व, बागलुङ र रोल्पा तीन जिल्लाको सिमानामा रहेको पातिहाल्ना क्षेत्र प्रचुर पर्यटकीय सम्भावना बोकेको स्थानीयहरू बताउँछन्।

 

साताकाे चर्चित
सम्बन्धित