सोलुखुम्बु ।
सगरमाथा क्षेत्रमा परम्परागत रूपमा उब्जाइने गहुँ, जौ, फापरजस्ता अन्नबाली अहिले पहिलाजस्तो उत्पादन हुन सकेका छैनन्। मौसमको अनियमितता, तापक्रम वृद्धिको असर, बेमौसमी वर्षा तथा सुक्खा मौसमका कारण खेतीपाती प्रभावित भएको स्थानीय कृषकहरू बताउँछन्।
स्थानीय महिला पासाङ ल्हामु शेर्पाका अनुसार, “पहिले यहाँ उवा, फापर प्रशस्त फल्थ्यो, अहिले खेतीयोग्य जमिन बाँझै छोड्नुपरेको छ। पानीको अभाव, माटोको उर्बराशक्ति घट्दै जानु र चरम मौसमी परिवर्तनका कारण खेती लगाउन कठिन हुँदै गएको छ। खेती लगाउँदा पनि खासै पहिलाजस्तो उत्पादन हुँदैन।”
जलवायु परिवर्तनको प्रत्यक्ष असर सगरमाथा क्षेत्रका स्थानीय बासिन्दामा परिरहेको छ। विशेषगरी यहाँका महिला तथा बालबालिकाहरू पोषण अभावको समस्याबाट जुधिरहेका छन्। स्थानीय स्वास्थ्यकर्मीहरूका अनुसार, कृषि उत्पादन घट्दै जानु, मौसम परिवर्तनका कारण परम्परागत खेती असफल हुनु र आयातित खाद्य सामग्रीमा निर्भरता बढ्नुका कारण यहाँका महिलाहरू थप समस्यामा परेका छन्। पोषणको अभावले गर्भवती महिलाको स्वास्थ्यमा प्रतिकूल असर परेको छ भने नवजात शिशुहरूको स्वास्थ्य जोखिममा परेको छ।
संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले सार्वजनिक गरेको प्रतिवेदन अनुसार हिमाली क्षेत्रमा तापक्रम वृद्धिको दर अन्य क्षेत्रभन्दा बढी छ, जसले हिउँ पग्लने गति तीव्र बनाएको छ। खुम्बु क्षेत्रका तेन्जिङ जाङ्बु शेर्पाका अनुसार, “पहिले फापर प्रशस्त फल्थ्यो, तर अहिले सबै जग्गाहरू बाँझै छन्। जलवायु परिवर्तनको असरले हामीलाई धेरै समस्यामा पारेको छ।”
सगरमाथा आरोहीहरूले आधार शिविरमा छोडेका फोहरले पनि वातावरणमा नकारात्मक असर पुर्याएको छ। प्लास्टिक, खाद्यान्नका प्याकेट तथा अन्य गैरजैविक फोहरले हिमनदीहरूमा सूर्यको प्रकाशको प्रभाव बढाएको विज्ञहरू बताउँछन्।
लुक्लाका स्थानीय बासिन्दा तोयाकुमार श्रेष्ठका अनुसार, “पहिले चाँदीझैँ टल्कने हिमालहरू अहिले काला पहाडमा परिणत भइरहेका छन्। आरोहीहरूले छोडेका फोहर, औद्योगिक धुलो–धुवा र विश्वव्यापी तापमान वृद्धिका कारण हिमाली क्षेत्र थप जोखिममा परेको छ।”
स्थानीय तथा अन्तर्राष्ट्रिय विज्ञहरूले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न दीर्घकालीन रणनीति आवश्यक रहेको बताएका छन्। साना किसानहरूलाई जलवायु अनुकूल खेती प्रणाली सिकाउने, सिँचाइका लागि वैकल्पिक उपायहरू खोज्ने तथा जैविक कृषिलाई प्रवर्द्धन गर्ने नीति आवश्यक रहेको कृषि विज्ञ चन्द्रमान श्रेष्ठले बताए।
“हिमाली भेगको कृषि उब्जाउ घट्नुको मुख्य कारण नै जलवायु परिवर्तन हो। तर खेती भएन भनेर बारी बाँझै छोड्नु झनै चिन्ताको विषय हो। अन्य विकसित प्रजातिहरू अपनाउन सकिन्छ,” कृषि विज्ञ श्रेष्ठले भने।
स्थानीय बासिन्दाहरूले जलवायु परिवर्तन अनुकूलनका लागि टनेल खेती, जैविक मलको प्रयोग र परम्परागत ज्ञानमा आधारित कृषि प्रविधिहरू प्रयोग गर्न थालेका छन्। तथापि यी उपायहरू दीर्घकालीन रूपमा पर्याप्त नहुन सक्ने र थप सरकारी तथा गैरसरकारी सहयोग आवश्यक पर्ने विज्ञहरू बताउँछन्।
पर्यावरणीय असन्तुलन न्यूनीकरण गर्न तथा उच्च हिमाली भेगका नागरिकहरूको खाद्य सुरक्षाका लागि दीर्घकालीन योजनाहरू आवश्यक रहेको वातावरणविद् डा. राजन थापा बताउँछन्। जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सबै सरोकारवालाहरूले सामूहिक प्रयास गर्नुपर्ने विज्ञहरूको तर्क छ।