वीरगञ्जमा लामखुट्टेको आतंक, महानगरले नियन्त्रण अभियान शुरू गर्दै
वीरगञ्जमा लामखुट्टेको आतंक, महानगरले नियन्त्रण अभियान शुरू गर्दै
    • बेल संचार

    • ३ चैत्र २०८१, आईतवार

वीरगञ्ज

औद्योगिक तथा व्यापारिक केन्द्र वीरगञ्जमा केही सातादेखि लामखुट्टेको आतंक बढेको छ। गर्मी मौसमको सुरूआतसँगै यहाँका सर्वसाधारण बिहान र साँझको समयमा लामखुट्टेको टोकाइले सास्ती खेप्न बाध्य भएका छन्।

होलीको समयमा महानगरका सरसफाइ कर्मचारी बिदामा भएकाले फोहर नउठ्दा लामखुट्टेको संख्या झन् बढेको स्थानीय बासिन्दाको गुनासो छ। वीरगञ्जका विभिन्न वडाका नागरिकले महानगरले लामखुट्टे नियन्त्रणमा ध्यान नदिएको भन्दै असन्तुष्टि जनाएका छन्।

वीरगञ्ज महानगरपालिकाले आइतबारदेखि ३२ वटै वडामा लामखुट्टे नियन्त्रण अभियान सुरू गर्ने जनाएको छ। सरसफाइ व्यवस्थापन शाखा प्रमुख सर्फुदिन मियाँका अनुसार गर्मी बढेसँगै डेङ्गी, मलेरिया, इन्सेफ्लाइटिस जस्ता रोगको सम्भावित सङ्क्रमण रोक्न लामखुट्टे नियन्त्रण अभियान सञ्चालन गरिँदैछ।

महानगरले नालामा पम्प स्प्रेमार्फत लामखुट्टेको लार्भा नष्ट गर्न बिहान र साँझ तीन पटक स्प्रे गर्ने तथा वयस्क लामखुट्टे मार्न बेलुकीदेखि रातिसम्म एयर स्प्रे गर्ने योजना बनाएको छ।

यो अभियान चैत ३ गतेदेखि सुरू भई चैत २४ गतेसम्म सञ्चालन गरिने महानगरले जनाएको छ।

साताकाे चर्चित
सम्बन्धित