सप्तरी ।
सप्तरीको शम्भुनाथ नगरपालिका–३ कचन्दाहाका मागैन सदाका पूरै परिवार नागरिकताबाट वञ्चित रहेका छन्। नेपाली नागरिकता नहुँदा उनीहरू राज्यका विभिन्न सेवासुविधाबाट वञ्चित हुँदै आएका छन्।
६० वर्षीय मागैन सदा, उनकी श्रीमती उर्मिलादेवी सदा, जेठो छोरा गोविन्द र कान्छो छोरा दीपकसहित परिवारका सबै सदस्य नेपाली नागरिकताको अभावमा आफ्नो पहिचानका लागि संघर्षरत छन्। मागैनका अनुसार उनका बाबु आमा दुबैको नागरिकता नभएकै कारण आफ्नो परिवारले पनि नागरिकता पाउन सकेको छैन।
मागैन सदाले नागरिकता बनाउनका लागि धेरै ठाउँमा धाए पनि समस्या समाधान नभएको बताए। उनले आर्थिक अभावका कारण केही समय भारतको पञ्जाबमा मजदुरी गरेर फर्किएपछि नेपालमै श्रम गर्न चाहेका भए पनि नागरिकता नभएकै कारण समस्यामा परेको गुनासो गरे।
यस्तै समस्या चन्दर सदाको परिवारले पनि भोगिरहेको छ। उनका बाबु धोथर सदाको नागरिकता नहुँदा चन्दरको परिवारका सबै सदस्य नागरिकताविहीन छन्। चन्दरका अनुसार उनकी श्रीमती र पाँच जना छोराछोरीले जन्मदर्ता नपाउँदा शिक्षालगायतका आधारभूत सेवाबाट वञ्चित हुनुपरेको छ।
सप्तरीका विभिन्न स्थानीय तहमा जन्मदर्ता, विवाह दर्ता र नागरिकता नपाएका नागरिकहरूको समस्या बढ्दो छ। व्यक्तिगत घटना दर्ता सुनिश्चित गर्न द फ्रिडम फन्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रले हरवाचरवा दलित समुदायका लागि विशेष अभियान सञ्चालन गरेको छ।
यस अभियानमार्फत शम्भुनाथ, बोदेबर्साइन, डाक्नेश्वरी नगरपालिका र रुपनी गाउँपालिकामा नागरिकता तथा जन्मदर्ता बनाउन पहल भइरहेको श्रीपुर्राज सामुदायिक विकास केन्द्रका सहजकर्ता बिजली रामले बताए। तथ्याङ्क सङ्कलनपछि जन्मदर्ता नपाएका अधिकांश बालबालिकाले नागरिकताको अभावमा पढ्नसमेत नपाएको पाइएको छ।
शम्भुनाथ नगरपालिकाका कार्यवाहक नगरप्रमुख अनिताकुमारी चौधरीका अनुसार विगतमा नागरिकता र व्यक्तिगत घटना दर्ता प्रक्रियामा चेतनाको अभाव हुँदा अहिलेका सन्ततिहरू समस्यामा परेका छन्। राज्यका सेवासुविधा सुनिश्चित गर्न नागरिकता र जन्मदर्ता आवश्यक भएकाले यसतर्फ विशेष पहल गरिनुपर्ने उनको भनाइ छ।