प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवाद २०८१ विशेष बनाउन तयारी तीव्र
प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवाद २०८१ विशेष बनाउन तयारी तीव्र
    • बेल संचार

    • ६ चैत्र २०८१, बुधबार

काठमाडौं

आगामी जेठमा आयोजना हुन लागेको सगरमाथा संवाद २०८१ लाई विशेष बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले छलफललाई तीव्र बनाउनु भएको छ।

प्रधानमन्त्री ओलीले बुधबार निर्देशक समितिको पहिलो बैठक राखेर कार्यक्रम व्यवस्थापन, विदेशी अतिथिहरूको निमन्त्रणा, विज्ञहरूको सहभागिता लगायतका विषयमा विस्तृत छलफल गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीहरू, सम्बन्धित मन्त्रालयका प्रतिनिधिहरू तथा सरोकारवाला निकायका व्यक्तिहरू सहभागी भएका थिए।

बैठकमा प्रधानमन्त्री ओलीले सगरमाथा संवादलाई अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी बनाउन सबै क्षेत्रको सहयोग र सहभागिता आवश्यक रहेको उल्लेख गर्दै सहभागीहरूलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको थियो।

यस संवाद कार्यक्रमलाई प्रभावकारी बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सचिवालय सञ्चालनमा आइसकेको छ। साथै, प्रधानमन्त्री ओलीको अध्यक्षतामा निर्देशक समिति गठन गरिएको छ भने परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको अध्यक्षता र वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीको सहअध्यक्षतामा व्यवस्थापन समिति पनि गठन गरिएको छ।

सरकारले भारत, चीनसहित विभिन्न मुलुकका राष्ट्रप्रमुख र सरकार प्रमुखहरूलाई विशेष अतिथिका रूपमा आमन्त्रण गरिसकेको छ।

सगरमाथा संवाद विश्वव्यापी छलफल मञ्चको रूपमा विकास हुँदै गएको छ। जलवायु परिवर्तन, हिमाली पारिस्थितिकी प्रणाली, र मानव जीवनको भविष्यलाई केन्द्रमा राखेर नेपाल सरकारले पहिलो पटक यस्तो द्विवार्षिक (हरेक दुई वर्षमा हुने) विश्वव्यापी संवाद कार्यक्रम आयोजना गर्न लागेको हो।

साताकाे चर्चित
सम्बन्धित