काठमाडौँ ।
संयुक्त राष्ट्रसङ्घले घोषणा गरेका विभिन्न अन्तर्राष्ट्रिय दिवसहरू आज विश्वभरि मनाइँदै छन्। आजका दिन विश्वले हिमनदी संरक्षण, जातीय भेदभाव उन्मूलन, वन संरक्षण, कविता दिवस तथा डाउन सिन्ड्रोमसम्बन्धी चेतनाका लागि विशेष कार्यक्रमहरू आयोजना गरिरहेका छन्।
संयुक्त राष्ट्रसङ्घका अनुसार दुई अर्बभन्दा बढी जनसङ्ख्या स्वच्छ पेयजलका लागि हिमनदीमा निर्भर छन्। जलवायु परिवर्तनका कारण तीव्र गतिमा पग्लिरहेका हिमनदी संरक्षणका लागि सचेतना आवश्यक रहेको विज्ञहरू बताउँछन्।
आजकै दिन जातीय भेदभाव उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस मनाइन्छ। यो दिवस जातीय असमानता तथा भेदभावविरुद्ध संघर्ष गरिरहेका समुदायहरूसँग ऐक्यबद्धता जनाउन मनाइन्छ।वन संरक्षण र दिगो व्यवस्थापनका लागि आज अन्तर्राष्ट्रिय वन दिवस मनाइन्छ। वनले पृथ्वीको पर्यावरण सन्तुलन कायम राख्ने महत्वपूर्ण भूमिका खेल्ने भएकाले यसको संरक्षण अपरिहार्य छ।
साहित्य, कला र अभिव्यक्तिको सशक्त माध्यमका रूपमा रहेको कवितालाई प्रवर्द्धन गर्न आज विश्व कविता दिवस मनाइन्छ।
बाल्कन, ककेसस, इरान, मध्य एसियाली मुलुकहरूमा वसन्त ऋतुको आगमन तथा नयाँ वर्षको स्वागतका रूपमा नौरोज पर्व मनाइन्छ। यस पर्वले सांस्कृतिक विविधता र एकताको सन्देश प्रवाह गर्ने विश्वास गरिन्छ।
डाउन सिन्ड्रोम एक आनुवंशिक स्वास्थ्य समस्या हो, जसले मानिसको बौद्धिक तथा शारीरिक विकासमा असर पार्न सक्छ। आजको दिन यसबारे जागरुकता फैलाउन विभिन्न कार्यक्रमहरू आयोजना गरिन्छन्।
यी दिवसहरू मनाउनुको उद्देश्य सम्बन्धित क्षेत्रहरूप्रति जनचेतना अभिवृद्धि गर्नु हो।