गोरखा ।
गोरखाको आरुघाट गाउँपालिका–६ स्थित कल्लेरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, २७ वर्षीय हरि विकलाई आज बिहान फाइबरको तार तान्ने क्रममा पोलमा चढ्दा करेन्ट लागेको हो। गम्भीर घाइते भएका विकलाई तत्कालै गोरखा अस्पताल लगिएको थियो, जहाँ चिकित्सकहरूले उनलाई मृत घोषणा गरे।
प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीका अनुसार, डिसहोमको फाइबर तार तान्ने क्रममा पोलमा चढ्दा विक बिजुलीको नाङ्गो तारमा छोइएकाले करेन्ट लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।