चितवन ।
नेपालमा बाघको सङ्ख्या उल्लेखनीय रूपमा वृद्धि भएसँगै यसको बासस्थान व्यवस्थापन चुनौतीपूर्ण बन्न पुगेको छ। राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र, र अन्य वन्य क्षेत्रहरू बाघको प्राकृतिक बासस्थान भए पनि, जनसङ्ख्या वृद्धिसँगै बाघको आवासीय क्षेत्र संकुचित हुँदै गएको छ।
चितवन राष्ट्रिय निकुञ्जले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्यले बाघका लागि बासस्थान विस्तार गर्नु अनिवार्य रहेको बताए। उनले विगत पाँच वर्षयता बाघको सङ्ख्या लगातार बढ्दै गएकाले यसको दीर्घकालीन संरक्षणका लागि नयाँ उपायहरू अवलम्बन गर्नुपर्ने आवश्यकता औंल्याए।
उनले भने, “हिंस्रक बाघलाई खुला चिडियाघर बनाएर संरक्षण गर्न सकिन्छ। यसलाई आयआर्जनसँग जोड्न सकिएमा पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्नेछ।”
नेपालमा बाघको सङ्ख्या सन् २००९ मा १२१ मात्र थियो, जुन सन् २०१३ मा १९८, सन् २०१८ मा २५३ हुँदै सन् २०२२ मा ३५५ पुगेको छ। बाघको सङ्ख्या बढ्दै गर्दा बासस्थान क्षेत्र भने ९३ प्रतिशतले घटेको आचार्यले बताए।
एक सय वर्षअघि विश्वभर करिब १ लाखको सङ्ख्यामा रहेका बाघहरू हाल मात्र ५,००० हाराहारीमा सीमित छन्। नेपालमा बाघ संरक्षणमा सुधार आए पनि बढ्दो जनघनत्व, वन अतिक्रमण, र मानव-बाघ द्वन्द्वका कारण यसको दिगो व्यवस्थापनमा चुनौती देखा परेको छ।
नेपालका वन क्षेत्रहरूले करिब ५०० बाघ धान्न सक्ने आकलन गरिएको छ। बाघको मुख्य आहार मृग प्रजाति भएकाले, यसका लागि पनि संरक्षण कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने विज्ञहरू बताउँछन्।