एमालेको सचिवालय बैठक र प्रधानमन्त्री ओलीसम्बन्धी समाचारप्रति गम्भीर ध्यानाकर्षण
एमालेको सचिवालय बैठक र प्रधानमन्त्री ओलीसम्बन्धी समाचारप्रति गम्भीर ध्यानाकर्षण
    • बेल संचार

    • ११ चैत्र २०८१, सोमबार

सत्तारूढ नेकपा (एमाले)ले पार्टीको सचिवालय बैठक र प्रधानमन्त्री केपी शर्मा ओलीलाई जोडेर आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

एमाले महासचिव शंकर पोखरेलले सोमबार जारी गरेको विज्ञप्तिमा केही दिनअघि राजावादीहरूले गरेको प्रदर्शनबारे प्रधानमन्त्री ओलीले दिएको भनिएको अभिव्यक्ति निराधार र अतिरञ्जित भएको स्पष्ट पारिएको छ।

विज्ञप्तिमा उल्लेख गरिएअनुसार, त्यस्ता समाचारले अनावश्यक सनसनी फैलाउने तथा नेपाल-भारतबीचको ऐतिहासिक सम्बन्धमा आशंका उत्पन्न गराउने दुराशय बोकेको छ। विज्ञप्तिमा भनिएको छ, “नेकपा (एमाले)को हालै सम्पन्न सचिवालय बैठकसँग सम्बन्धित विषयमा केही नेपाली तथा विदेशी मिडियामा प्रकाशित समाचारप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। पूर्वराजावादीहरूको प्रदर्शनबारे प्रधानमन्त्रीले दिएको भनिएको अभिव्यक्ति पूर्ण रूपमा निराधार र अतिरञ्जित छ। तिनले अनावश्यक सनसनी फैलाउने तथा नेपाल-भारतबीचको सम्बन्धमा आशंका उत्पन्न गराउने उद्देश्य राखेको देखिन्छ।”

एमालेले लोकतान्त्रिक प्रणालीलाई नै पूर्ण रूपमा स्वीकार गर्ने र निरङ्कुश शासन व्यवस्थालाई समर्थन गर्न नसकिने स्पष्ट पारेको छ। विज्ञप्तिमा उल्लेख छ, “इतिहासको पाङ्ग्रालाई पछाडि फर्काउने कुनै पनि प्रयासलाई नेपाली जनताले अस्वीकार गर्छन् भन्ने कुरामा हामी विश्वस्त छौं।”

साथै, नेकपा (एमाले) र सरकार नेपाल-भारत सम्बन्धलाई अझ प्रगाढ बनाउन, आपसी मुद्दाहरू कूटनीतिक माध्यमबाट समाधान गर्न तथा विकास साझेदारीलाई अगाडि बढाउन प्रतिबद्ध रहेको जनाएको छ।

परराष्ट्र नीति तथा बाह्य सम्बन्धजस्ता संवेदनशील विषयमा समाचार प्रकाशन वा प्रसारण गर्नुअघि पार्टीको आधिकारिक धारणा बुझ्न आग्रह गर्दै, एमालेले सम्बद्ध पक्षलाई जिम्मेवार पत्रकारिताको पालन गर्न अनुरोध गरेको छ।

यसअघि, केही समाचार माध्यमले एमाले सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले राजावादी आन्दोलनमा भारतको संलग्नता रहेको भन्ने आशयको जानकारी गराएको खबर प्रकाशन गरेका थिए, जसलाई एमालेले असत्य तथा भ्रामक भन्दै खण्डन गरेको छ।

null

साताकाे चर्चित
सम्बन्धित