तनहुँस्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा रु ८ अर्ब ३१ करोड ९१ लाख राजस्व संकलन गरेको छ। निर्धारित लक्ष्यअनुसार यो संकलन एक प्रतिशत कम भए पनि कुल ९९ प्रतिशत लक्ष्य पूरा भएको कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए।
कार्यालयलाई सोही अवधिमा रु ८ अर्ब ४० करोड १७ लाख राजस्व संकलन गर्ने लक्ष्य दिइएको थियो। साथै, चालु आर्थिक वर्षभरि कुल रु १४ अर्ब ९३ करोड ५४ लाख ६९ हजार राजस्व असुली गर्ने लक्ष्य रहेको उनले बताए।
तनहुँ आन्तरिक राजस्व कार्यालयमा हाल २५ हजार करदाता करको दायरामा समेटिएका छन्। साथै, लमजुङ, गोर्खा, र मनाङ जिल्लाका उद्यमी तथा व्यवसायीहरूले पनि यही कार्यालयमार्फत राजस्व दाखिला गर्दै आएका छन्।