हिमा नदीमा डोजर पस्दा असला माछा दुर्लभ
हिमा नदीमा डोजर पस्दा असला माछा दुर्लभ
    • उमेश बुढा

    • १५ चैत्र २०८१, शुक्रबार

 जुम्ला

हिमा नदीमा गिट्टी, बालुवा र ढुङ्गा उत्खननका लागि डोजर प्रयोग गरिँदा असला जातका माछा लोप हुने अवस्थामा पुगेका छन्।

एक दशकअघि यो नदीमा असला जातका माछाहरू प्रचुर मात्रामा पाइन्थे। तर, हालका वर्षहरूमा सडक, भवन र अन्य संरचना निर्माणका लागि नदीबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गर्न थालिएपछि माछा तथा तिनका भुरा बिचल्लीमा परेका छन्।

स्थानीय अकविरे सार्कीका अनुसार हिमा, सिँजा र कनकासुन्दरी गाउँपालिकाका विभिन्न स्थानमा डोजरको व्यापक प्रयोगले माछाको बासस्थान नष्ट भइरहेको छ। जसका कारण असला जातका माछा लोप हुँदै गएका छन्।

डोजरले नदी खन्दै जाँदा माछा नाग्म (कालिकोट) तर्फ भागेका छन्। स्थानीय सरकारको कमजोर अनुगमनका कारण नदी उत्खनन नियन्त्रण हुन सकेको छैन। पहिले चोरीसिकार हुँदा पनि नदीमा प्रशस्त माछा पाइन्थे, तर अहिले माछा लोप हुनुको मुख्य कारण चोरीसिकार होइन, उनीहरूको प्राकृतिक बासस्थान विनाश हुनु हो।

हिमा नदीका माछाको संरक्षण गर्नुपर्ने जिम्मेवारी स्थानीय सरकारको भए पनि त्यसको सट्टा माछाका बासस्थानहरू नै उत्खनन गरिँदा समस्या झनै जटिल बन्दै गएको छ। माछा जोगाउनका लागि तत्काल प्रभावकारी उपाय अपनाउन आवश्यक देखिन्छ।

साताकाे चर्चित
सम्बन्धित