काठमाडौँ ।
राष्ट्रिय मानव अधिकार आयोगले समाजवादी मोर्चा र राजावादी समूहलाई आज तय भएको प्रदर्शन शान्तिपूर्ण बनाउन आग्रह गरेको छ।
प्रदर्शनका क्रममा दुवै पक्ष आमनेसामने हुने स्थिति सिर्जना भएमा त्यसबाट उत्पन्न हुनसक्ने परिस्थितिले शान्ति सुरक्षामा समेत चुनौती थप्न सक्ने अवस्थाप्रति आयोगले विज्ञप्तिमार्फत चासो राखेको छ।
बिहीबार आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा प्रदर्शनलाई मध्यनजर गर्दै उपत्यकाको सुरक्षा व्यवस्थाको सम्बन्धमा काठमाडौँ र ललितपुरका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र नेपाल प्रहरीको मानव अधिकार सेलका प्रतिनिधिसँग छलफल गरिएको उल्लेख छ।
छलफलका क्रममा सुरक्षा अधिकारीहरूले शान्ति सुरक्षाको अवस्थालाई व्यवस्थित गर्न उपत्यकाका सबै सुरक्षा निकाय बीच समन्वय गर्दै प्रदर्शनकारीका प्रतिनिधिसँग समेत छलफल गरी सुरक्षा योजना तयार पारिएको बताएको पोखरेलले बताए।