नेपालमा कोरियाली पर्यटन प्रवर्द्धनमा कोटानको सातौं वार्षिकोत्सव सम्पन्न
नेपालमा कोरियाली पर्यटन प्रवर्द्धनमा कोटानको सातौं वार्षिकोत्सव सम्पन्न
    • बेल संचार

    • १५ चैत्र २०८१, शुक्रबार

काठमाडौं,

दक्षिण कोरियाली पर्यटकलाई नेपालमा आकर्षित गर्न प्रतिबद्ध कोरिया टुर्स एण्ड ट्रेनिङ अपरेटर एशोसिएसन नेपाल (कोटान) को सातौं वार्षिकोत्सव कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

गत बिहीबार (मार्च २७) काठमाडौंको होटल मर्क्योरमा आयोजित “कोटान नाइट” कार्यक्रममा कोटानका पदाधिकारी, गणतन्त्र कोरियाली दूतावास, कोइका, इपिएस, नेपाल पर्यटन बोर्ड, होटल एसोसिएसन, तथा पर्यटन क्षेत्रका विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

नेपालमा दक्षिण कोरियाली पर्यटकको आगमन वृद्धि गर्ने उद्देश्यसहित सन् २०१७ मा कोरियाली दूतावास र पर्यटन व्यवसायीहरूको सहकार्यमा कोटानको स्थापना गरिएको थियो। कोरियाली पर्यटकलाई सुरक्षित तथा स्मरणीय अनुभव प्रदान गर्न कोटानले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

कार्यक्रममा कोटानका अध्यक्ष अमर बहादुर शाही ले संस्थाको मूल लक्ष्य कोरियाली पर्यटकलाई सुरक्षित रूपमा ट्रेकिङ तथा नेपाल भ्रमण गराउने रहेको उल्लेख गरे। साथै, कोरियाली दूतावाससँग संस्थाले स्थापना कालदेखि कायम राखेको सहकार्यप्रति उनले आभार व्यक्त गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क थेयङ ले नेपालमा कोरियाली पर्यटन प्रवर्द्धनका लागि कोटानको भूमिकाको प्रशंसा गरे।

उनले पर्यटन व्यवसाय नेपालका लागि महत्वपूर्ण आर्थिक स्रोत भएको उल्लेख गर्दै कोरियामा हरेक हप्ता झण्डै ५० लाख पर्यटक पहाडहरूमा ट्रेकिङ गर्ने तथ्यांक प्रस्तुत गरे। यदि तीमध्ये मात्र २ प्रतिशत पर्यटक नेपाल भ्रमण गर्ने हो भने वार्षिक १ लाख कोरियाली पर्यटक नेपाल भित्र्याउन सकिने सम्भावना रहेको उनले बताए।

राजदूत पार्कले नेपालमा कोरियाली पर्यटन प्रवर्द्धन गर्न दूतावास प्रतिबद्ध रहेको बताउँदै कोटानसँगको सहकार्यलाई अझ विस्तार गर्ने घोषणा गरे।

कार्यक्रमकै अवसरमा कोरियाली पर्यटकको स्वास्थ्य सुरक्षाका लागि कोटान र हेम्स अस्पतालबीच आपत्कालीन उपचारसम्बन्धी सम्झौता सम्पन्न भएको छ। यस सम्झौताले कोरियाली पर्यटकहरूको नेपाल भ्रमणलाई थप सहज र सुरक्षित बनाउने अपेक्षा गरिएको छ। नेपालमा कोरियाली पर्यटकको संख्या वृद्धि गर्न कोरियामै विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमहरू सञ्चालन गर्ने योजना समेत रहेको सरोकारवालाहरूले बताएका छन्।

साताकाे चर्चित
सम्बन्धित