काठमाडौं ।
नेपाली चलचित्र ‘अञ्जिला’ की प्रमुख कलाकार तथा नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बा शुक्रबार बिहान काठमाडौं आइपुगेकी छिन्। आफ्नै जीवनमा आधारित यस चलचित्रको प्रचारका लागि उनी कतार एयरवेजको विमानबाट बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी हुन्।
चार दिनको नेपाल बसाइका लागि ग्रिसबाट नेपाल आएकी एन्जिलालाई चलचित्र युनिटले भव्य स्वागत गरेको छ। चलचित्रका निर्देशक मिलन चाम्सका अनुसार, शुक्रबार नै एन्जिला काठमाडौंका विभिन्न हलहरूमा दर्शक भेट्न जानेछिन्। शनिबार काठमाडौंका विभिन्न कार्यक्रमहरूमा सहभागी भएपछि आइतबारदेखि पूर्वी तथा पश्चिम नेपालका हलहरूमा पुग्ने योजना रहेको छ। उनी पोखरा, नेपालगन्ज, बिर्तामोड, धरान, इटहरी, चितवन र दाङ का हलहरूमा पुगेर दर्शकहरूसँग अन्तरक्रिया गर्नेछिन्।
चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठका अनुसार, एन्जिलाको यो भ्रमण विशुद्ध चलचित्र प्रवर्द्धनका लागि गरिएको हो। हाल एन्जिला ग्रिसको शीर्ष डिभिजन महिला फुटबल लिग क्लब ‘निस एट्रोमिटौ’ बाट खेलिरहेकी छिन्। चलचित्रको प्रचार सकेर उनी पुनः ग्रिस फर्किनेछिन्।
चलचित्र ‘अञ्जिला’ दर्शकमाझ लोकप्रिय
चलचित्र ‘अञ्जिला’ एन्जिलाको बाल्यकालदेखि खेल जीवनसम्मको संघर्ष र सफलताको कथा प्रस्तुत गर्ने चलचित्र हो। यसमा एन्जिलासँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ।
बिहीबारदेखि तेस्रो हप्ता प्रवेश गरेको यो चलचित्रले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ। बक्स अफिसमा राम्रो व्यापार गरिरहेको यो चलचित्र दर्शकले मन पराइरहेका छन्।