काठमाडौँ ।
काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। प्रहरीको ब्यारिकेड तोडेर बानेश्वरतर्फ प्रवेश गर्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गर्दै लाठीचार्ज गरेको छ। सुरक्षा अधिकृतका अनुसार बानेश्वर प्रवेश गर्न खोज्ने चार जना प्रदर्शनकारीलाई पक्राउ गरिएको छ।
तीनकुनेमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ तथा नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापना लागि संयुक्त जनआन्दोलन समिति’ले प्रदर्शन गरिरहेका थिए। स्थानीय प्रशासनले त्यहाँ प्रदर्शनको अनुमति दिएको भए पनि प्रदर्शनकारी बानेश्वर जान खोजेपछि स्थिति तनावग्रस्त बनेको हो।
यसैबीच, गणतन्त्र समर्थक समूहले प्रदर्शनीमार्गमा प्रदर्शन गरिरहेका छन्।