म्यानड ।
म्यानमारमा शुक्रबार गएको ७.७ म्याग्निच्युडको विनाशकारी भूकम्पका कारण मृत्यु हुनेको संख्या १४४ पुगेको छ। उक्त भूकम्पमा सयौँ घाइते भएको म्यानमारको सेनाले जनाएको छ।
भूकम्पको धक्का छिमेकी देशहरू थाइल्याण्ड, भारत, र चीनसम्म महसुस गरिएको थियो। शनिबारसम्म म्यानमारमा स–साना परकम्पहरू गइरहेका छन्। उद्धारकर्मीहरू रातभर भग्नावशेषमा पुरिएकाहरूको खोजी तथा घाइतेहरूको उद्धारमा खटिएका छन्।
म्यानमारको दोस्रो ठूलो सहर म्यानडलेमा भूकम्पका कारण धेरै भवनहरू ढलेका छन् भने म्यानडले र याङगुनमा विद्युत् आपूर्ति प्रभावित भएको छ।
यसैबीच, थाइल्याण्डमा भूकम्पको असरले एउटा निर्माणाधीन गगनचुम्बी भवन ढल्दा १०० भन्दा बढी व्यक्ति हराइरहेका छन्। सुरक्षाका लागि थप दुई भवन खाली गराइएको छ भने शनिबार २,००० भन्दा बढी भवनहरूको अनुगमन गरिने बताइएको छ।
म्यानमारमा उद्धार कार्यलाई तीव्र बनाउन चीनले ३७ सदस्यीय उद्धार टोली पठाएको छ। समाचार एजेन्सी सिसिटिभीका अनुसार उक्त टोलीसँग ११२ वटा आपत्कालीन उद्धार सामग्री, भूकम्पबारे पूर्वसूचना दिने प्रविधि, ड्रोन, र पोर्टेबल स्याटेलाइटहरू छन्। चीनको युनान प्रान्तमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो, जहाँ दुई जना घाइते भएका छन्।