टीकापुर नगरपालिकामा पाइप लाइनमार्फत घरघरमा ग्यास आपूर्ति गर्दै आएको बायो ग्यास प्लान्ट विद्युत् आपूर्ति कटौती भएपछि अलपत्र परेको छ।
नगरपालिका–५ स्थित सामुदायिक पशु चौपाया व्यवस्थापन क्षेत्रभित्र निर्माण गरिएको बायो ग्यास प्लान्टको विद्युत् महसुल नतिरेपछि विद्युत् प्राधिकरणले लाइन काटेको थियो। विद्युत् आपूर्ति बन्द भएसँगै प्लान्ट सञ्चालन हुन नसक्दा ५५ घरमा पुर्याइएको ग्यास आपूर्ति रोकिएको छ।
गोबरबाट ग्यास उत्पादन गरी दैनिक चार घण्टा स्थानीयलाई आपूर्ति गर्दै आएको प्लान्ट विद्युत् अभावका कारण बन्द भएको सामुदायिक पशु चौपाया व्यवस्थापन तथा प्रवर्द्धन समितिका अध्यक्ष लोकबहादुर बुढाक्षेत्रीले जानकारी दिए। उनका अनुसार नगरपालिकाले महसुल नतिरेका कारण प्लान्ट सञ्चालन गर्न नसकिएको हो।
विद्युत् प्राधिकरण टीकापुर वितरण केन्द्रका अधिकृत रामप्रसाद अधिकारीका अनुसार गत पुस २२ गतेदेखि विद्युत् लाइन काटिएको हो। नगरपालिकाले तिर्नुपर्ने रु १४,६४६ बक्यौता नतिरेपछि विद्युत् काटिएको र हाल जरिवाना थपिँदै रु २५,१७२ पुगेको उनले जानकारी दिए। “बक्यौता तिरेपछि लाइन पुनः जडान गरिनेछ,” उनले भने।
ग्यास आपूर्ति बन्द भएपछि स्थानीय उपभोक्ता निराश बनेका छन्। बायो ग्यासमा निर्भर उपभोक्ताहरू पुनः एलपी ग्यासको सहारा लिन बाध्य भएका छन्। प्लान्ट सञ्चालन नभएपछि जडान भएका उपकरणहरूमा खिया लाग्न थालेको छ भने संरचना पनि जीर्ण बन्दै गएको छ।
करिब रु १ करोड ६० लाखको लागतमा निर्माण सम्पन्न भएको प्लान्ट पशु मलमूत्र, जैविक फोहर र कृषि अवशेषमार्फत बायोग्यास उत्पादन गर्ने उद्देश्यले स्थापना गरिएको थियो। नगरपालिकाले उपभोक्ताहरूलाई प्रतियुनिट रु ४५ महसुल तिर्ने गरी कार्यविधि बनाए पनि उपभोक्ताहरूले उक्त दर महँगो भएको भन्दै असन्तुष्टि जनाएका छन्।
नगरपालिकाको वन वातावरण तथा फोहर व्यवस्थापन उपशाखाका प्रमुख लोकबहादुर बुढाका अनुसार उपभोक्ताको असन्तुष्टि तथा शुल्क विवादकै कारण प्लान्ट बन्द भएको हो। “कार्यपालिकाले रु ४५ प्रति युनिट तोकेको थियो, उपभोक्ताहरूले त्यो महँगो भएको भन्दै विरोध गरेपछि प्लान्ट सञ्चालनमा आउन सकेको छैन। तर, चाँडै समाधान खोज्ने प्रयास भइरहेको छ,” उनले भने।