म्यानमारमा शुक्रबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरूको संख्या ७०४ पुगेको छ। युनाइटेड स्टेट्स जियोलोजिकल सर्भे (यूएसजीएस)ले भूकम्पका कारण हजारौंको मृत्यु भएको हुनसक्ने आशंका गरेको छ।
शुक्रबार बिहान ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो, जसको धक्का थाइल्याण्ड, बंगलादेश, चीन र भारतसम्म महसुस गरिएको थियो। म्यानमारको सैनिक सरकारले कम्तीमा ६९४ जनाको मृत्यु पुष्टि गरेको छ भने १,६७० जना घाइते भएको जनाएको छ। उता, थाइल्याण्डमा १० जनाको मृत्यु भएको छ।
६ राज्यमा आपतकाल घोषणा
म्यानमार र थाइल्याण्डमा पछिल्लो २०० वर्षयताकै ठूलो भूकम्पका कारण भीषण विनाश भएको छ। म्यानमारका ६ राज्य र थाइल्याण्डभरि आपतकाल घोषणा गरिएको छ।
उद्धार र राहत कार्यमा कठिनाइ
रेडक्रसका अनुसार बिजुली आपूर्ति अवरुद्ध भएकाले माण्डले, सागाइङ र दक्षिणी शान राज्यसम्म उद्धार टोलीलाई पुग्न कठिनाइ भइरहेको छ। रेडक्रसले प्रारम्भिक रिपोर्टका आधारमा ठूलो क्षति भएको बताउँदै मानवीय सहायता जुटाउने तयारी गरिरहेको छ।
डेढ लाख डलर राहत घोषणा
भूकम्प प्रभावित म्यानमार र थाइल्याण्डमा राहत तथा सहयोगका लागि रेडक्रसले डेढ लाख डलर प्रदान गर्ने घोषणा गरेको छ। यो रकम भोजन, पानी, कम्बल, तिरपाल र हाइजिन किटजस्ता अत्यावश्यक सामग्रीका लागि प्रयोग गरिनेछ।
परकम्पको संख्या १४ पुग्यो
यूएसजीएसका अनुसार मुख्य भूकम्पपछि म्यानमारमा थप १४ पटक परकम्पहरू गएका छन्, तीमध्ये अधिकांश ५ म्याग्निच्युडभन्दा कम तीव्रताका थिए। सबैभन्दा शक्तिशाली परकम्प ६.७ म्याग्निच्युडको रहेको थियो, जुन मुख्य भूकम्प गएको करिब १० मिनेटपछि महसुस गरिएको थियो।